यसरी गरिन्छ कम्पनीको नाममा बैकिङ ठगी, सोलार फार्मको नाममा प्रशान्त तातैडलगायतहरुको संगठित ‘अपराध’

सन् २०२१ फ्रेबुअरीदेखि नेपाल सरकारलाई विद्युत् बेच्न सुरु गरेको धनुषा जिल्लाको ढल्केवरमा रहेको इको पावर डेभलेपमेन्ट कम्पनीले निर्माणाधीन समयमा बैंकिङ ठगी गर्न ठेकेदार कम्पनी कुशल प्रोजेक्ट्स प्राइभेट लिमिटेडसँग सहकार्य गरेको खुल्न आएको छ । 

यो विषयमा उजुरी परेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन सुरु गरेको छ ।

‘पर्याप्त प्रमाणहरुका आधारमा उजुरी आएको छ, यो विषयमा हामीले छानबिन सुरु गरिसकेका छौँ,’ अनुसन्धान ब्यूरोका एक प्रहरी अधिकारीले फरकधारलाई जानकारी दिए, ‘सम्बन्धित व्यक्तिहरुलाई बोलाएर सोधपुछ गर्ने क्रम सुरु भइसकेको छ ।’

इको पावर डेभलपमेन्ट कम्पनीले सन् २०१९ डिसेम्बरमा १० मेगावट एसी र १२ मेगावट डिसी विद्युत् उत्पादन गरेको यो प्रोजेक्टमा बैंकलाई झुक्याउन, भ्रममा राख्नका लागि छुट्टै सम्झौता गरेको सम्झौता पत्रमा उल्लेख गरिएको छ । 

सम्झौता पत्रमा भएअनुसार कुशल प्रोजेक्ट्स नेपाल प्राइभेट लिमिटेडले बैंकिङ उद्देश्यका लागि मात्र ८६ करोड सम्झौता गरिदिएको तर यो प्रोजेक्टको कूल लागत ४५ करोड ५१ लाख मात्र भएको उल्लेख गरिएको छ । सम्झौतामा कुशल प्रोजेक्ट्सका लागि भारतीय नागरिक प्रबन्ध निर्देशक सन्दीप अग्रवाल र इको पावरका लागि भोजराज सिग्देलले हस्ताक्षर गरेका छन् ।

बैंक ठगीका लागि इकाे र कुशलबीच भएकाे सम्झाैता ।



४५ करोड ५१ लाखमा प्रोजेक्ट सके पनि ठेकेदार कम्पनी कुशल प्रोजेक्ट्सले नक्कली भ्याट बिलहरुसमेत जारी गरेर यसको लागत बढी देखाउँदै इको पावरलाई बैंकिङ ठगी गर्न सहयोग गरेको फरकधारले पाएका प्रमाणहरुमा स्पष्ट देखिन्छ ।

कुशलको यही बिलहरु र यही सम्झौतालाई लुकाएर बैंकमा पेश गरिएको कागजातका आधारमा प्राइम बैंकले इको पावरलाई ६० करोड २० लाख ऋण डिस्पर्स गरेको देखिन्छ ।



कुशल प्रोजेक्ट्समा यसको व्यवस्थापन गरेका थिए, प्रशान्त तातैडले । उनी यो कम्पनीका अध्यक्षसमेत हुन् । इको पावरका अध्यक्ष नवीन कुमार सिंह र तातैडको मिलेमतोमा बैैंकिङ ठगी भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको हो ।

यो घटनामा तातैड र नवीन कुमार सिंहलाई नेपाली कांग्रेसका पाँचखालका मेयर महेश खरेलले समेत सहयोग गरेको देख्न सकिन्छ । 

फरकधारले कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातैडलाई सोधेको थियो, ‘बैंकिङ कसुर गर्नका लागि सोलार पावर प्लान्ट निर्माणमा तपाईंहरुले धाँधली गर्नुभएको हो ?’

उनले यसको स्पष्ट जवाफ दिएनन् । ‘हामी ठेकेदार कम्पनी मात्र हो, त्यही आधारमा मलाई सिआइबीले सोधपुछका लागि बोलाएको थियो, मैले त्यहाँ आफ्ना कुरा राखेको छु,’ उनले भने, ‘बैंकबाट ऋण लिएको हामीले होइन, इकोले हो ।’

तर, उनले यसका लागि आफूहरुले छुट्टै सम्झौता गरिदिएको कुरालाई लुकाउन खोजे ।

यसबारे बुझ्न खाेज्दा इकाेका नविन सिंह सम्पर्कमा आउन चाहेनन् ।

इको पावर र कुशल प्रोजेक्ट्सले बैंकिङ कसुरका लागि समेत प्रयोग गर्नका लागि कसरी काम गरे, सम्झौता कस्ताकस्ता गरेका छन् र यसले कसरी बैंकिङ क्षेत्रमा रहेको समस्याबारे उजागर गर्छ भन्ने विषयमा फरकधारमा थप समाचारहरु प्रकाशित हुनेछन् ।

 

  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १८:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया