त्रिवि केन्द्रीय पुस्तकालय: स्वरूपमा सुधार, व्यवस्थापन अझै बेहाल

काठमाडौं– सेता अनि हरिया दराजहरू लहरै मिलाएर राखिएका छन् । तिनै दराजमा मोटा मसिना पुस्तक पनि लहरै मिलाएर राखिएका छन् । सफा अनि चिटिक्क । पुस्तक तान्दा यसको शोभा नै बिग्रिन्छ कि जस्तो लाग्ने । मानौँ, त्यो भर्खरै सञ्चालनमा आएको पुस्तकालय हो ।

तर, दुईजना विद्यार्थी ती दराजबाट पुस्तक तान्दै सरर्र हेर्दै, फेरि राख्दै गर्दै छन् । एकजना कर्मचारी पछि–पछि लागेकी छिन् र सानो स्वरमा सम्झाउँदै उनी भनिरहेकी छिन्, ‘जहाँबाट निकाल्नुभो, त्यहीँ राख्नुस्, नम्बर मिलाएर मात्र राख्नुस् है ।’

विद्यार्थी कर्मचारीको कुरालाई त्यति ध्यान दिइरहेका छैनन् । उनीहरूको क्रियाकलाप हेर्दा लाग्थ्यो, उनीहरू एकदमै हतारमा छन् । छिटो–छिटो पुस्तक खोज्न चाहिरहेका छन् । तर भेटिरहेका छैनन् । कर्मचारीले फेरि भनिन्, ‘जुन पायो त्यो पुस्तक ननिकाल्नुस् । जानुस्, पहिला पुस्तकको नाम र नम्बर हेरेर आउनुस् ।’ विद्यार्थीहरू त्यहाँबाट क्याटलग हेर्न निस्किए ।

२०७२ सालको विनाशकारी भूकम्पका कारण अस्तव्यस्त भएको त्रिवि केन्द्रीय पुस्तकालयमा पुस्तक मिलाउने काम बल्ल–बल्ल सकिँदै गएको छ । यसैले मिलाइएको पुस्तक नबिगारून् भनेर कर्मचारीले विद्यार्थीलाई बारम्बार भनिरहेकी थिइन् । यो नेपाल कलेक्सन सेक्सनमा चलिरहेको दृश्य हो । 

लगभग ५० वर्ष लामो इतिहास बोकेको छ, यो पुस्तकालयले । यसको स्थापना विसं २०१६ सालमा त्रिविको स्थापनासँगै त्रिपुरेश्वरमा भएको थियो । जुन सुरुमा दुई कोठाको मात्र थियो । त्यहीवेला लालदरबारमा तत्कालीन नेपाल सरकारले युएसआइडीको सहयोगमा एउटा अर्को पुस्तकालय स्थापना गरेको थियो । २०१९ सालमा यी दुवैै पुस्तकालयलाई एउटैमा गाभियो । त्यसपछि २०३० सालमा कीर्तिपुरमा नयाँ भवन निर्माण गरी सारियो । यो अहिले कीर्तिपुरमा नै अवस्थित छ ।



नेपालकै ठूलो पुस्तकालय हो, त्रिवि केन्द्रीय पुस्तकालय । यसमा लाखौँ पुस्तक (४ लाखभन्दा बढी) रहेका छन् । तर, समयअनुकूल परिवर्तन हुन नसक्नु यसको ठूलो कमजोरी हो । यसैकारण यसका विभिन्न समस्या छन् । यो डिजिटल समयमा अझै यसको क्याटलगलाई डिजिटलाइज गर्न सकेको छैन । विद्यार्थीले एउटा पुस्तक खोज्न पनि क्याटलगमा घन्टौँ घोत्लिनुपर्छ । यसको मुख्य कमजोरी नै यही हो । बल्ल–बल्ल गति लिएको पुस्तकालय ०७२ को भूकम्पले ध्वस्त बनायो । अहिले यो बिस्तारै–बिस्तारै सुधार भइरहेको छ ।



केही महिनाअघिसम्म दराजमा राखिएका पुस्तकको अवस्था लथालिंग नै थियो । तर, अहिले बिस्तारै यो अवस्थामा सुधार हुँदै गइरहेको देखिन्छ । विद्यार्थी क्याटलग हेर्न गइसकेपछि विद्यार्थीलाई सम्झाइरहेकी कर्मचारी विद्यार्थीले निकालेर राखेका किताब मिलाउँदै पुस्तकालयमा अहिले लगभग सबै पुस्तक मिलाइसकिएको बताइन् । 

लगभग ६÷७ महिनाअघि नेपाल कलेक्सनको अवस्था एकदमै भद्रगोल थियो । अहिले त धेरै नै व्यवस्थित भएको बताउँदै उनले भनिन्, ‘अहिले यो सेक्सनमा उपलब्ध रहेका सबै पुस्तक नम्बरअनुसार मिलाएर राखिएका छन् । सही नम्बर लिएर आइयो भने पुस्तक मज्जाले भेटिन्छ । यसमा कुनै समस्या नै छैन ।’

उनको नाम हो, अर्चना भुजेल । उनले करिब ७÷८ वर्षदेखि यही पुस्तकालयमा काम गर्दै आइरहेकी छिन् । अहिले बल्ल–बल्ल पुस्तक मिलाएर राखिएको छ । तर विद्यार्थीले पुस्तक निकालेर जहाँ मन लाग्यो, त्यहीँ राखिदिन्छन् भनेर गुनासो गर्छिन्, उनी । भोलिको दिनमा विद्यार्थीलाई नै सजिलो होस् भनेर नम्बरअनुुुसार मिलाएर राखिएको छ, तर विद्यार्थीले भनेको सुन्दैनन् भन्दै उनले भनिन्, ‘विद्यार्थीले नियम पालना गर्दैनन्, त्यसैले भनेको समयमा पुस्तक पाउन सक्दैनन् ।’ उनले अगाडि थपिन्, ‘विद्यार्थीको पछि लागिएन भने पुस्तकलाई जहाँ पायो त्यहीँ राखिदिन्छन् ।’ 

पुस्तकालयमा टाइमपास गर्नेहरू, ज्ञान हासिल गर्न चाहनेहरू, मास्टर्स गरिरहेका, पिएचडीहोल्डर सबै खालका विद्यार्थी आउने गर्छन् । ‘विद्यार्थीले नियमको पालना त गर्दैनन् गर्दैनन्, उनीहरूले पुस्तकभित्रका महत्वपूर्ण पाना (कुनै आधा गरेर कुनै पुरै) च्यात्नेदेखि लिएर जानी–जानी एक ठाउँको पुस्तक अर्को ठाउँमा मिसाइदिन्छन्,’ दिक्क मान्दै उनले भनिन् ।

पुस्तकालय ज्ञान आर्जन गर्ने विशेष ठाउँ हो । त्यसैले विद्यार्थीले पुस्तक जोगाउनुपर्छ र पुस्तकालयको नियम पालना गर्नुपर्छ । अहिले पुस्तकालयमा पुस्तकको व्यवस्थापनमा सुधार हुँदै गएकाले विद्यार्थीको चाप पनि बढ्न थालेको छ । यद्यपि, योभन्दा पहिले चाप कम भएको भने होइन । अहिले पुस्तकालयबाहिर र भित्र बराबर रूपमा विद्यार्थीको चाप देखिन्छ ।

एकातिर पुस्तकालयबाहिर विद्यार्थीहरू गोलो घेरा बनाएर समूह–समूहमा पढिरहेका छन् भने कोही एक्लाएक्लै । अर्कोतिर पुस्तकालयभित्र रिडिङ रुमको शान्त वातावरणमा विद्यार्थी ध्यान केन्द्रित गरेर अध्ययन गरिरहेका छन् । जुत्ताको आवाज पनि ननिस्किने गरी बिस्तारै–बिस्तारै हिँडिरहेका छन् । सुटुक्क बस्छन् कुर्सीमा, कसैले पनि चाल नपाउने गरी ।

भूकम्पका कारण पुस्तकालयमा पुस्तकको अवस्था भद्रगोल थियो । चाहिएको पुस्तक पाउनै गाह्रो । तर, अहिले धेरै सुधार आएको बताउँछन् त्रिवि अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययनरत सन्देश पौडेल । उनले भने, ‘अहिले पुस्तक व्यवस्थापनको कार्य भइरहेकोले सजिलै पाउन सकिन्छ, तर भूकम्पमा हराएका, च्यातिएका पुस्तक थप भएको छैन । यति भए झनै सजिलो हुन्थ्यो ।’

अछामकी दीप्ति धामी आफ्नो कलेज बिदाको दिन यही पुस्तकालमा बिताउने गर्छिन् । उनले पनि पहिलेको तुलनामा पुस्तकालय एकदमै सुधार भएको बताइन् । 

पहिले–पहिले पढ्नका लागि आफ्नो पुस्तक पनि ल्याउन पाइन्थ्यो । आजभोलि ल्याउन नपाइने नियम रहेछ । ल्याए पनि फोटोकपी गरेर मात्र ल्याउन दिने गरेको बताइन् । तर, पुस्तकालय जति चिटिक्क भए पनि आफूलाई चाहिएको पुस्तक पाउन भने मुस्किल नै भएको गुनासो पोख्छिन् । उनले भनिन्, ‘सबै पुस्तक मिलाएको भए पनि आफूलाई चाहिएको पुस्तक खोज्न भने धेरै नै समय लाग्छ । अझै सजिलै पाउन सक्ने गरी व्यवस्थापन गर्न जरुरी छ ।’ उनी बिहान १० बजे नै पुस्तकालय छिर्छिन् । खोजेको पुस्तक पुस्तकालयमा पाउन धेरै समय लाग्ने हुनाले फोटोकपी भए पनि आफैँले लिएर आउने गरेको बताइन् ।

त्रिवि पुस्तकालय बाहिरी रूपमा सुधार भएको देखिए पनि भित्री रूपमा अझै भद्रगोल नै छ । यद्यपि, सुधारको काम भने धमाधम चलेकै छ । पुस्तकालय अव्यवस्थित भएका कारणसुविधाबाट विद्यार्थी वञ्चित भएको स्विकार्छन्, त्रिवि पुस्तकालयका प्रमुख इन्द्रप्र्र्रसाद अधिकारी । विद्यार्थीले भोग्नुपरेका समस्यालाई समाधान गर्न लागिपरेको अधिकारी बताउँछन् । उनले भने, ‘भूकम्पपछि विद्यार्थीलाई बस्ने ठाउँ नभएर तत्काल बस्नका लागि टहराको निर्माण गरियो,’ अधिकारीले भने, ‘भूकम्पमा छताछुल्ल भएका पुस्तक दराजले भ्याएसम्म व्यवस्थापन गरिसक्यौँ ।’ 

भूकम्पमा लगभग डेढ लाख भन्दा बढी पुस्तकहरु भद्रगोल भएको र त्यसलाई व्यवस्थापन गर्ने कार्य लगभग सकिएको बताउँदै उनले भने, ‘अझै केही दराजको आवश्यकता छ । त्यो निर्माण हुने कार्य भइरहेको छ ।’ छरिएका पुस्तकमध्ये पहिले बढी आवश्यक पुस्तकको व्यवस्थापन गरेर प्रयोग कम हुने र अति कम प्रयोग हुने पुस्तकलाई अस्थायी रूपमा टहरामा थन्क्याएको उनको भनाइ छ । 

केन्द्रीय पुस्तकालयमा वर्षमा लगभग पाँच हजार पुस्तक थपिने जानकारी दिँदै अधिकारीले सेमेस्टर सिस्टम लागू भएपछि भने पुस्तक आउने क्रम अलि कम भएको बताए । त्यसैले पनि विद्यार्थीले आफूलाई चाहिएको पुस्तक नपाएकोे उनले स्वीकार गरे ।

भूकम्पका कारण यो पुस्तकालयको चारवटा कोठा काम नलाग्ने भएको बताउँदै अधिकारीले भने, ‘भारतीय सरकारको सहयोगमा नयाँ भवन बन्ने भएको छ, सायद यसै वर्षको अन्तिममा यसको निर्माण कार्य सुरु होला ।’

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय नेपालको ठूलो पुस्तकालय भईकन पनि पुस्तकालय सञ्चालनको गतिविधि पुरानै ढर्राको छ । यसलाई छिटोभन्दा छिटो डिजिटल प्रविधिमा पुर्याउन जरुरी छ । यसको राम्रो र आधुनिक तरिकाले व्यवस्थापन गर्न जरुरी देखिन्छ ।

  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार १६:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया