सही अर्थमा नेपालको एकीकरण भएकै छैन : बाबुराम भट्टराई
डा. बाबुराम भट्टराई
फरकधार / १ फागुन, २०७५

पृथ्वीनारायण शाह र भीमसेन थापा दुवैजना गोरखामा जन्मिएका थिए । उनीहरुकै कालखण्डमा भौगोलिक एकीकरणको प्रक्रिया मूल रुपमा पूरा भयो । तर, वास्तवमा यो एकीकरण नै थिएन । मलाई त यो एकप्रकारको प्रशासनिक एकीकरण र फौजी एकीकरण भएजस्तो मात्र लाग्छ । 

जुन मुख्य जनसंख्या देशमा बसोवास गर्थ्यो, तीमध्ये दुईतिहाइ मध्यपहाडमा बस्थ्यो र एकतिहाइ अहिले भारतसँग जोडिएको हुलाकी मार्ग भएको (तराइ÷मधेस) सिमानाको आसपासमा बस्थ्यो । 

तर, विकास गर्ने क्रममा यहाँका शासकहरु जनताको लागि विकास गर्नुको सट्टा आफ्ना दरबारहरु बनाउने काममा लागे । पछि, राजा महेन्द्रले पूर्वाधारको विकास गर्ने क्रममा बाटो बनाए । बाटो बनाउनु नराम्रो कुरा होइन । तर, उनले चलाखीपूर्वक चुरेको फेदीमा बाटो बनाए । त्यहाँ न मधेसी बस्थे, न पहाडि नै । 

त्यसपछि, महेन्द्रले बनाएको बाटोछेउ पहाडका र मधेसका पनि टाठाबाठाहरु जम्मा भए । राजाको  शासन टिकाउने एउटा आधार त बन्यो, तर वास्तविक जनता, जो मधयपहाडमा बस्थे र हुलाकी मार्गमा मधेसीहरु बस्थे, ती  जनताले त्यो बाटोको लाभ पाएनन् ।

भौगोलिकीकरणको चरण हुँदै लोकतान्त्रिक चरणसम्म पुग्न हामीलाई लामो समय लाग्यो । यी सबै राजनीतिक परिवर्तनका चरणपछि अब तपाईं–हामी सबैलाई चाहिएको छ, विकास र समृद्धि । 

प्राकृतिक स्रोत र साधनले सम्पन्न हाम्रो देश गरिब कसरी भयो ?, कसले बनायो ? जस्ता गम्भीर प्रश्न आज उठ्न थालेका छन् । गरिबीलाई कसरी हटाउने, सबैको चासोको विषय बनेको छ । हिजोका कांग्रेस, एमाले, माओवादी, जसले लोकतन्त्र ल्याउनमा जे योगदान गर्यो, अब विकास र समृद्धी ल्याउनका लागि त्यो क्षमताले पुग्दैन । अर्थात्, लड्ने क्षमता वा पुरानो व्यवस्था बदल्ने क्षमता भन्ने बेग्लै कुरा हो । त्यसैगरी, विकास र समृद्धी भनेको फरक क्षमता हो । हिजोको कांग्रेस, एमाले, माओवादी भएर अब पुग्दैन ।  

नेपाल भनेको विभिन्न जाति तथा भाषिक समुदायले बनेको एउटा मुलुक हो । पूर्वका लिम्बूहरु, राई खम्बुहरु, तामाङ, नेवारहरु, गुरुङहरु, मगरहरु र पश्चिमका खसहरु र तराई मधेसका थारुहरु र मध्यमधेसका विभिन्न भोजपुरी, मैथिली आदि भाषीहरु । यसरी, नेपालमा १ प्रतिशतभन्दा बढी जनसंख्या भएका ९ ओटा समुदाय छन् । 

यसरी हेर्दा यी ९ ओटा जातिमध्ये ७ ओटा जाति यो मध्यपहाडमा बसोवास गर्छन्, तर यो पश्चिमबाट नजोडिँदा यी जाति एउटै मालामा उनिन पनि पाएनन् । अहिले ‘सयौँ थुङ्गा फूलका माला हामी एउटै माला नेपाली’ भन्दै छौँ । वास्तवमा हाम्रो एउटै माला बन्दै बनेन । एउटै माला बन्नका लागि अहिलेको वैज्ञानिक औद्योगिकीकरणको विकास र विस्तार गर्न जरुरी छ । त्यसैगरी, व्यापारलाई विशेष प्राथमिकता दिनुपर्छ । यसका लागि यातायातको सुविधा जोडिनु सबैभन्दा महत्वपूर्ण विषय हो ।

राजा महेन्द्रले बनाएको बाटोसँगै त्यसको समानान्तरमा हुलाकी मार्गको बाटो, मधेसमा जनताका पाएक पर्ने ठाउँमा बाटो, पहाडका जनताका बीचबाट एउटा बाटो, कोसी गण्डकी र कर्णालीको चुरे भागबाट चीन जोड्ने ३ ओटा मुख्य बाटो निर्माण गर्न सके नेपाल साँच्चै एकीकृत हुन्छ । यसरी जातीय र भाषिक एकीकरण पनि हुन्छ । नेपाल साँच्चै नै एकताबद्ध हुन्छ । सही अर्थमा नेपालको एकीकरण भएको मानिनेछ । 

२०६५ सालमा अर्थमन्त्री हुँदा बजेटमा पुष्पलाल मार्ग पनि उल्ललेख गरेको थिएँ । पछि २०६८/६९ मा प्रधानमन्त्री भएका बेला यसलाई राष्ट्रियकरण गर्ने योजना बनाइयो । हिमाल पहाड र तराईका फरक–फरक विशेषता छन् । पूर्व र पश्चिमका फरक–फरक विशेषता छन् । तिनीहरुका बीचमा बन्द व्यापार हुन थाल्यो भने त्यसले औद्योगिकीकरणको लहर ल्याउँछ । अहिले हाम्रो निर्वाहमुखी कृषि प्रणाली छ । त्यसलाई भत्काएर व्यवसायमूलक अर्थतन्त्र पनि बन्छ । 

२०४६ सालमा संविधानसभाबाट नयाँ संविधान बनाउनुपर्छ भन्ने सबैभन्दा पहिलो व्यक्ति मै हुँ । २००७ सालमा उठेको संविधानसभाको माग २०१४ सालमा त हराइसकेको थियो । बीचमा यसको कुरा कसैले पनि उठाउँदैनथ्यो ।

जब संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएपछि माओवादी आन्दोलनले पनि आफ्नो लक्ष्य पूरा गर्यो, र सबै पार्टी  मिलेर संविधानसभाबाट संविधान बनायौँ । माओवादीलाई मैले छोडेको होइन । माओवादीले संविधानसभाबाट संविधान जारी गर्ने लक्ष्य लिएको थियो, त्यो पूरा गर्यो । त्यसपछि विकासको बाटोमा लाग्न सकेन । अब नयाँ युग सुरु भो, अब विकास र समृद्धिको बाटोमा अगाडि बढौँ भनेर नयाँ विचारका साथ अगाडि बढेको हुँ ।  

अहिले देशमा दिनप्रतिदिन भ्रष्टाचारका काण्ड भइरहेका छन् । एनसेल काण्ड र वाइडबडी प्रकरण उदाहरणका लागि प्रस्ट छन् । समय र परिस्थितिअनुसार आफूलाई बदल्न सकिएन भने तपाईं, म जोसुकै भए पनि भ्रष्टाचारी भएर गन्हाउने, दुर्गन्धित हुने खतरा हुन्छ । यो प्रवृत्ति वर्तमान समयमा हाबी भएको छ । 

राज्यसत्ता भनेको जनताको सेवा गर्ने एउटा साधन हो । देशको राजस्व, सम्पत्ति, यी सबै जनताको साझा सम्पत्ति हुन् । यसको रक्षा गर्नुपर्छ भन्नुको सट्टा राज्य भनेको गाई हो, त्यहाँ पुगेर हामीले दुहेर खानुपर्छ भन्ने खालको जुन स्वार्थी प्रवृत्ति हाबी भएको छ, यसले गर्दा देश भ्रष्टाचारको दलदलमा फसेको छ । यसबाट देशलाई बचाउनका लागि केवल नयाँ सोच र नयाँ विचारले मात्र दिन्छ । त्यो नयाँ विचार विकास र समृद्धि कायम गर्नु हो ।

अहिले सरकारले विकास कार्यलाई अगाडि बढाउनुको सट्टा विभिन्न किसिमका भ्युटावर वा ठूला–ठूला मूर्ति बनाउनमा अर्बौं खर्च गरिरहेको छ । जनताका वास्तविक समस्या के–कस्ता छन् ? उनीहरुले आफ्नो गाउँठाउँमा के खोजिरहेका छन् ? कुन कुराको आवश्यकता बढी छ ? अहिलेको सरकारप्रति उनीहरुको धारणा के छ ? हामी यही बुझ्न मध्यपहाडी लोकमार्गको यात्रामा आएका हौँ ।

(विभिन्न गाउँठाउँमा गएर त्यहाँका जनतासँग प्रत्यक्ष रुपमा भेटघाट गरी उनीहरुको वास्तविक समस्या बुझ्ने र राय तथा सुझाब लिने उद्देश्यका साथ यही १५ माघदेखि फागुन १५ सम्म चल्ने ‘मध्यपहाडी लोकमार्ग जनसंवाद तथा जागरण’ अभियानका क्रममा नयाँशक्ति नेपालका संयोजक एवं सांसद डा. बाबुराम भट्टराईले मंगलबार गोरखा जिल्ला पुगेर एक कार्यक्रममा बोलेका थिए । भट्टराईले कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश) 

  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार १७:३९:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया