पुस ५ गते राजधानीको शान्तिवाटिकामा भेटिएका थिए, पूर्वमाओवादी लडाकु पार्वती पुन ‘जलजला’ र दिलमाया बुढामगर । उनीहरु दुवै पूर्वलडाकुले सुरु गरेको अनशन (२७ मंसिरदेखि ९ पुस) मा सहभागी हुन आएका थिए ।
पार्वती र दिलमायाजस्तै हजारौँ महिला माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र संघर्षमा सहभागी भए । माओवादी संघर्षमा महिला सहभागितालाई इतिहासमै सबैभन्दा ठूलो महिला जागरणको रुपमा अर्थ्याइन्छ ।
तत्कालीन माओवादीले सशस्त्र संघर्ष सुरु गरेको २३ वर्ष पुगेको छ । यी दुई दशकमा देशले नयाँ संविधान पायो । संघीयता सहितको राज्य व्यवस्था पायो । दुईपटक संविधानसभाको निर्वाचन भयो । संघ, प्रदेश र स्थानीय गरी तीन तहको निर्वाचन भयो । तर, यी सबै परिवर्तनको मूल जग बसाउने माओवादी पार्टी भने आज अस्तित्वमा छैन । मूल पार्टी अस्तित्वमा नभए पनि उसले सुरु गरेको संघर्षमा सामेल भएका महिला भने अझै उस्तै छन् ।
लडाइँको अग्रपंक्तिमा महिला
‘क्रान्तिमा महिला सहभागिताले समग्र क्रान्तिको सफलता, असफलताको निर्धारण गर्छ’ भन्ने लेनिनवादी मान्यता तत्कालीन माओवादीमा हाबी थियो । यही धारणाको बलमा माओवादीले राजनीतिक र सांगठनिक कार्यकर्ताका अलावा सैन्य दस्तामा समेत महिला भर्ती गरेको थियो ।
माओवादीहरुकै भनाइअनुसार ‘१० वर्षे संघर्ष नेपाली इतिहासमै सबैभन्दा धेरै महिला सहभागी भएको क्रान्ति हो ।’ माओवादी नेत्री (हाल नयाँ शक्ति) हिसिला यमीका अनुसार महिलाहरुले दोहोरो शोषणको सामना गरिरहेका थिए । जसका कारण उनीहरुमा प्रतिरोधको क्षमता पनि दोब्बर थियो । माओवादीले त्यही दोब्बर क्षमता देखेरै लडाकु दस्तामा महिलालाई सहभागी गराएको थियो ।
हिसिला भन्छिन्, ‘महिला समुदाय उत्पीडित समुदायको सबभन्दा बढी संख्या भएको समुदाय हो, जो प्रत्येक घर–घरमा, जाति, जनजाति, क्षेत्र, धर्म, भाषामा फिँजिएको छ । जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ भनेझैँ महिलामाथि वर्गीय र लैंगिक शोषणको दोहोरो मार भएकाले तिनीहरुमा दोब्बर प्रतिरोध गर्ने क्षमता हुन्छ । यही बुझेर हामीले उनीहरुलाई सैन्य क्षेत्रमा सहभागी गराएका हौँ ।’
हिसिला यमीले भनेजस्तै माओवादी सैन्य दस्तामा सामेल महिलाले लडाइँको मैदानमा अदम्य सहास देखाएकै हुन् । अझ कतिपय आक्रमणमा त उनीहरु पुरुषभन्दा अगाडि बढेर लडेका थिए । ७ चैत २०६० को म्याग्दी सदरमुकाम बेनी आक्रमणमा महिला लडाकुले अग्रपंक्तिमै रहेर लडेका थिए । बेनी आक्रमणमा सामेल मंगलसेन पहिलो ब्रिगेडका महिला छापामारका अनुसार, बेनीमा रातभरिको भिडन्तमा पुरुषभन्दा महिला छापामार लामो समय टिकेका थिए ।
माओवादीले मुलुकको ग्रामीण भेगमा ‘वर्गसंघर्षको अभ्यास’ थालेदेखि नै महिलाहरु सहभागी भएका थिए । हिसिला यमीले भनेजस्तै ‘सिन्धुपाल्चोकको कुभिन्डेमा एक शिक्षकलाई पक्रन गएका प्रहरीलाई महिलाहरुले खेदिदिए र प्रतिरोधको एउटा इतिहास रचे ।’
माओवादी सशस्त्र संघर्षमा सामेल महिला कतिसम्म साहसी थिए भने, ‘२०५७ सालमा गोरखा सदरमुकाम कारागारमा बन्दी बनाइएका ६ जना जेलभित्रबाट सुरुङ खनेर बाहिरिएका थिए ।’ कतिपय अध्येता यो घटनालाई ‘संगठित रुपमा महिलाहरुले जेल तोडेको विश्वकै अति विरलाकोटी घटना’ को रुपमा चित्रित गर्छन् । यो घटनाले ‘जनयुद्ध’ अवधिमा महिलाको परिचयलाई बदल्न ठूलो भूमिका खेलेको पनि बताइन्छ ।
माओवादी ‘जनयुद्ध’को सुरुवाती सफल आक्रमण मानिने रामेछापको बेथान प्रहरी चौकी आक्रमणमा मारिएका तीन माओवादीमध्ये एक महिला (दिलमाया तामाङ) थिइन् ।
यी दृष्टान्तले माओवादी सशस्त्र संघर्षको सुरुवातदेखि नै महिलाहरु लडाकुको रुपमा सहभागी थिए भन्ने देखाउँछ ।
कति सहज थियो महिलाका लागि लडाइँ र माओवादी ?
माओवादीको स्थापनाकालदेखि नै पार्टीमा महिला सहभागिता थियो । ‘२०५२ मा जनयुद्धको घोषणा गर्ने क्रममा १९ जनाको केन्द्रीय समितिमा एकजना हिसिला यमी महिला सदस्य थिइन् । २०५२ मै पूर्णकालीन कायकर्ता भएका अगुवाहरुमा एक दर्जनजति महिला थिए ।’
मिलिसिया, छापामार हुँदै माओवादीले २०५८ कात्तिकमा आफ्नो लडाकु दस्तालाई ‘जनमुक्ति सेना’को नाम दियो । जनमुक्ति सेना घोषणाको उक्त केन्द्रीय भेलामा पनि २० प्रतिशत महिला थिए । माओवादी ‘जनमुक्ति सेना’ कमला रोकाका अनुसार, २०६३ सम्म पुग्दा जनमुक्ति सेनामा महिलाको संख्या ४० प्रतिशत थियो ।
सशस्त्र संघर्षमा उल्लेख्य मात्रामा सहभागी भएर अदम्य साहस प्रर्दशन गरेका महिलाका लागि लडाइँ सहज भने थिएन । माओवादी सेनामा सरिक भएर हिँड्न महिलालाई शारीरिक चुनौती मात्रै थिएन, नेपाली समाजको सामाजिक, भौतिक र मानसिक अवरोध सामना गर्ने दृढता पनि उत्तिकै आवश्यक थियो ।
यही प्रसंगमा थोमस ए मार्कस लेख्छन्, ‘पुरुष र महिलाका शारीरिक भिन्नतालाई कमै मात्र स्विकारिएको थियो । खासगरी महिनाबारी र गर्भवती हुँदा पनि उनीहरूलाई विशेष सुविधा थिएन । महिला सेनाहरू गर्भवती हुँदा युद्धमा भाग लिन बाध्य भएका उदाहरण छन् ।’ मार्कसको भनाइलाई पुष्टि गर्ने थप आधार भेटिन्छ, ‘पहिलो महिला छापामार’ कमला रोकाको भनाइमा ।
कमला लेख्छिन्, ‘सपनाशीलाले...प्रेम विवाहपछि पेटमा पाँच/छ महिनाको बच्चासँगै भवाङ हान्निङको भीषण मोर्चामा कमान्ड गर्दा–गर्दै उनको सहादत हुन पुग्यो ।’ (रोल्पाको भवाङ प्रहरी चौकी माओवादीले २०५९ वैशाख १९ गते आक्रमण गरेका थिए)
यही प्रसंगलाई सैद्धान्तिक रुपमा थप प्रस्ट पार्न सकिन्छ, हिसिला यमीको आलेखबाट । २०६३ भदौको दिशाबोधमा प्रकाशित एक आलेखमा उनी लेख्छिन्, ‘महिलाको व्यावहारिक समस्याहरुको जहाँसम्म प्रश्न छ, प्रजनन स्वास्थ्य समस्या टड्कारो रुपमा देखापर्छ ।’
शारीरिक कारणले मात्रै होइन, पुरुषप्रधान सोचले पनि युद्धमा महिलामाथि विभेद भएका तथ्य भेटिन्छन् । माओवादीको सुरुवाती युद्ध मोर्चामै महिला सहभागिता भए पनि माओवादीभित्र उच्च तहको सैन्य र राजनीतिक नेतृत्वमा भने महिला पुग्न सकेनन् ।
उदाहरणको लागि : ‘जनयुद्ध सुरु गर्नुअघि केन्द्रीय समितिमा एकजना केन्द्रीय सदस्य थिइन् र शान्ति सम्झौता हुँदा झन्डै ११ वर्षपछि माओवादी केन्द्रीय समितिमा एकजना थपिएर केवल दुईजना महिला भए ।’
माओवादी सशस्त्र संघर्षको सुरुवातदेखि नै महिलाको उल्लेख्य सहभागिता रहे पनि माओवादी पार्टी पुरुषप्रधान भएकै कारण महिलाहरु नेतृत्व तह र निर्णय प्रक्रियामा सहभागी हुन नसकेको देखिन्छ । माओवादी पार्टीको उच्च तहमा पुगेकी हिसिला यमी पनि बाबुराम भट्टराईसँगको विवाहका कारण पुगेको तर्क पनि ठाउँठाउँमा प्रस्तुत भएका छन् ।
बाबुरामसँगको सम्बन्धका कारण उच्च तहमा पुगे पनि पार्टीका निर्णय प्रक्रियामा उनको भूमिका नरहेको निष्कर्ष दिन्छन्, थोमस ए मार्कस । ‘माओवादी पार्टीमा हिसिला यमीलाई विश्लेषकहरूले प्रशंसा गरेको भए पनि पार्टीको निर्णायक तहमा उनको खासै प्रभावकारी भूमिका थिएन । उनको पार्टीको भूमिका माओवादी पार्टीका दोस्रो वरीयताका नेता बाबुराम भट्टराईसँगको विवाहको कारण भएको हो,’ मार्कस लेख्छन् ।
‘पितृसत्तात्मक शोषण अन्त गर्नुपर्ने’ सोच राख्ने माओवादीभित्रै लैंगिक विभेद व्यापक रहेको विभिन्न दृष्टान्तमा देखिन्छ । माओवादी महिला विभागले २०५९/०६० मा गरेको अध्ययनले पनि जनसेनाभित्र पुरुषको मिचाहा प्रवृत्ति हाबी रहेको देखाउँछ । प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्दै हिसिला यमी लेख्छिन्, ‘संक्षेपमा जनयुद्धमा सामेल महिलाका चुनौतीहरु– पार्टीभित्रको जनाधिकार चर्चा, जनसेनाभित्रको पुरुषको मिचाहा प्रवृत्ति र नयाँ सत्ताभित्रको प्रतिनिधित्वविहीनताविरुद्ध संघर्ष जनयुद्धमा समेल भएका महिलाहरुको चुनौती हो ।’
माओवादी पार्टीभित्र महिलाप्रति देखिएको सैद्धान्तिक र व्यावहारिक समस्याले मन पोल्ने गरेको लेख्छिन्, पूर्वमाओवादी लडाकु कमला रोका । माओवादी सैन्य दस्तालाई माथि उठाउँदा पनि महिलाका विशिष्ट समस्यालाई ख्याल गर्नुपर्ने सुझाब दिँदै रोकाले भदौ २०६३ मा लेखेको लेखमा छ, ‘युद्धभित्र पैदा भएका कैयौँ सैद्धान्तिक र व्यावहारिक समस्याहरुले पिरोल्ने गर्दछ, र त्यसले संकीर्णता एवं घृणा पैदा गर्ने खतरा पनि उत्तिकै छ ।’
माओवादी पार्टीले महिला नेतृत्व विकास गर्न नसकेको मात्रै नभई थोरै भए पनि नेतृत्व तहमा पुगेका महिलालाई पनि नेतृत्वको रुपमा स्वीकार गर्न नसकेर पुरुषप्रधान प्रवृत्ति देखाएको प्रस्ट छ ।
माओवादी महिला विभागको अध्ययनले पनि जनमुक्ति सेनामा पुरुषवादी मिचाहा प्रवृति र यसले सिर्जना गरेको हीनताबोध प्रबल रहेको देखाउँछ । ‘जनसेनामा महिलाले सामना गर्नुपर्ने खास समस्या पुरुषवादी मिचाहा धारणा नै हो । महिलाहरुको हीनताबोध पनि धेरै हदसम्म पुरुषवादी मिचाहा धारणाकै उपज हो,’ अध्ययनको निष्कर्षमा हिसिला यमीले लेखेकी छिन् ।
माओवादी सशस्त्र संघर्षमा ठूलो संख्यामा महिला सहभागी भए पनि नेतृत्व तहमा महिला पुर्याउन नसक्नु माओवादीको ठूलो कमजोरी र भुल थियो । महिलाहरुको सक्रिय सहभागिताले नै क्रान्तिको सफलता र असफलता निर्धारण गर्ने धारणा राख्ने तत्कालीन माओवादीले क्रान्तिमा सामेल भएका महिलालाई नेतृत्वमा पुर्याउनेतर्फ रत्तिभर ध्यान नदिँदा उसको क्रान्तिकारितामाथि नै प्रश्न उब्जिएको छ ।
किन सहभागी भए लडाइँमा महिला ?
माओवादीले २०५२ सालमा सशस्त्र संघर्ष सुरु गर्दा देशमा महिला मात्रै होइन, अधिकांश जनता अशिक्षित थिए, गरिबीको रेखामुनि थिए । त्यसमाथि, माओवादीले आफ्नो आधार इलाका बनाएको कर्णाली, भेरी, सेती अञ्चलका धेरै जिल्लामा निरक्षरता र गरिबी अझै अत्यधिक छ । तर पनि यस्तो अवस्थामा माओवादी पार्टीका तीनै संरचना (पार्टी, जनसेना र संयुक्त मोर्चा) मा महिला सहभागिता कसरी उल्लेख्य रह्यो भन्ने प्रश्न महत्वपूर्ण छ ।
माओवादी संघर्षमा महिलाको सहभागिता न्यायको खोजी थियो । विद्यमान समयमा महिलाले भोग्नुपरेको पारिवारिक, समाजिक र राजनीतिक विभेदका विरुद्ध उनीहरु सक्रियताका साथ लडाइँमा सहभागी भएका थिए । बलात्कार, सम्पत्तिमाथि महिलाको अधिकार, छाउप्रथाजस्ता विषयमा तत्कालीन माओवादीले लिएको नीतिले महिलालाई संघर्षमा सहभागी हुन प्रेरित गर्यो ।
पूर्वको तुलनामा पश्चिम नेपालका महिला माओवादी संघर्षमा धेरै सामेल भए । माओवादी संघर्षमा सहभागी धेरैजसो महिला सामाजिक रुपमा उपेक्षित जाति, समुदायका थिए । ‘यो क्रान्तिले पीडित राष्ट्रिय समुदाय र सामाजिक रुपले निराश दलितहरुका ५० प्रतिशतभन्दा बढी महिलालाई तान्न सफल भएको छ ।’
यसका अलावा पश्चिम पहाडमा आफू र आफ्ना परिवारमाथि भएको हिंसा र अन्यायले पनि महिलाहरुलाई संघर्षमा उत्रन बाध्य बनाएको थियो । ‘जब महिलाले पनि नजिकका व्यक्ति र परिवारमाथि अन्याय भएको देखे, उनीहरू पनि माओवादी पार्टी र जनसेनामा ओइरिए ।’
५ पुसमा काठमाडौंमा भेटिएकी पार्वती पुनको भोगाइले पनि मार्कसको भनाइलाई पुष्टि गर्छ । जाजरकोटकी पार्वती आफ्ना भिनाजु, भाउजू र भाइलाई तत्कालीन शाही नेपाली सेनाले मारेपछि आफू माओवादी जनयुद्धमा सामेल भएको बताउँछिन् ।
आफन्तको हत्यापछि माओवादी संघर्ष महिलाहरुका लागि मन बुझाउने चौतारी भएको थियो । एकल र त्रासदीपूर्ण जीवन भुलाउँदै बदला लिने माध्यम बनेको थियो, माओवादी संघर्ष । ‘निर्दोष दाजुको सेनाले हत्या गरेपछि विद्रोहको बन्दुक समातेकी सरिता हुन् वा दलित भएकै आधारमा पढ्न नपाएकी निर्जला, उनीहरु सबैको मन बुझाउने चौतारी बनेको छ, माओवादी युद्ध ।’
महिलाहरु आफन्तको मृत्युको बदला लिन मात्र नभई समाजिक विभेद तथा थिचोमिचो सहन नसक्दा माओवादी संघर्षमा सामेल भएको पाइन्छ । माओवादी संघर्षमा सामेल धेरै महिलाले माओवादीमा लागेपछि सामाजिक जीवनभन्दा अलि धेरै सम्मान पाएको पनि बताएका छन् ।
संक्षेपमा ‘जुनसुकै तहमा भएका भए पनि महिला सैनिकहरू माओवादीमा लाग्नु र सेनामा जानुको कारण सामाजिक न्यायको खोजी नै थियो’ भन्ने मार्कसको भनाइ सही ठहर्याउन सकिन्छ । तर, के सामाजिक, आर्थिक र राजनीतिक न्यायका लागि संघर्षमा होमिएका महिलाले कल्पना गरेजस्तै न्याय पाए त ?
आज कस्तो छ महिला लडाकुको अवस्था ?
२०६३ सालमा शान्ति सम्झौता गरेपछि साम्य भएको माओवादी सशस्त्र संघर्षमा सामेल महिला लडाकुहरु जुन अवस्थाबाट युद्धमा सामेल भएका थिए, अहिले त्योभन्दा पनि कमजोर अवस्थामा पुगेका छन् । माओवादीले लडाइँ सुरु गर्नुअघि सरकारलाई बुझाएको ४० बुँदे मागमा ‘महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ । छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिइनुपर्छ ।’ भन्ने उल्लेख थियो । पैतृक सम्पत्तिमा नीतिगत अधिकार पाए पनि त्यो कार्यान्वयको तहमा अझै पुगेको छैन । महिलामाथि हुने शोषण अझै अन्त भएको छैन ।
यसका अलावा, संघर्षमा सामेल महिलाको सामाजिक र आर्थिक जीवन दयनीय बनेको छ । कतिपयम महिला लडाकु अझै पनि शरीरमा गोली र छर्रा बाकेर बाँचिरहेछन् । २०५६ सालमा माओवादी प्रवेश गरेकी पार्वती पुनको पेट र खुट्टामा गोलीको छर्रा अझै छ । २०६० को म्याग्दी सदरमुकाम र २०६१ को दैलेख नौमुलु भिडन्तमा उनी घाइते भएकी थिइन् । त्यसै पनि आर्थिक रुपमा परिवार र पुरुषमाथि निर्भर हुने महिलाहरु युद्धमा ऊर्जा सकेर घर फर्किंदा उनीहरुको सामाजिक र आर्थिक जीवन पीडादायी बन्यो ।
२०६४ पुसमा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले माओवादी लडाकु प्रमाणीकरण गर्दा माओवादीसँग १९ हजार ६ सय २ जना लडाकु थिए । यीमध्ये कतिपयलाई अयोग्य भनियो भने कतिपयले अवकाश रोजे । १९ हजारभन्दा बढीको संख्यामा रहेका माओवादी लडाकुमध्ये जम्मा १ हजार ४ सय २२ जना मात्रै नेपाली सेनामा भर्ती भए । सेनामा भर्ती भएकाबाहेक अन्य लडाकु अहिले कहाँ छन् ? के गरिरहेका छन् ? कस्तो अवस्थामा छन् ? यी प्रश्नका जवाफ तत्कालीन माओवादी नेतृत्व र सरकार दुवैसँग छैन ।
लामो समय हतियारसँग खेलेका माओवादी लडाकु अझै पनि समाजमा समायोजन हुन नसकेको र आर्थिक अवस्था दयनीय बनेको देखाउँछ, माओवादी पूर्वलडाकुको मंसिर २७ देखि पुस ९ सम्मको आमरण अनशनले ।
माओवादी सेनामा सामेल धेरैजसो महिला पश्चिम नेपालका थिए । पश्चिम नेपालका महिलाको शैक्षिक र आर्थिक अवस्था नेपालको अन्य क्षेत्रको भन्दा झनै कमजोर छ । त्यसकारण पनि संघर्षमा सामेल महिला सामान्य नागरिक जीवनमा अझै फर्किन सकेका छैनन् ।
पूर्वलडाकुको अनशनका क्रममा भेटिएकी दिलमाया बुढामगरले ४ कक्षासम्म मात्रै औपचारिक शिक्षा लिएको बताएकी थिइन् । यसबाहेक, माओवादी महिला विभागको अध्ययनले पनि माओवादीमा सामेल करिब ५० प्रतिशत महिलाको शैक्षिक स्तर ६ देखि १० कक्षासम्म मात्रै रहेको देखाउँछ ।
थोमस ए मार्कसले म्याक्स वेबरको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘आर्थिक अवस्था मानिसको ‘स्थान’ निर्धारणमा महत्वपूर्ण छ भन्ने मार्कसको भनाइ शतप्रतिशत सही छ । तर, राजनीति र स्ट्याटसले पनि मानिसको अवस्था निर्धारण गर्छन् ।’ मानिसको अवस्थालाई प्रभाव पार्ने तीनमध्ये दुई वास्तविकतामा मार्कसले ध्यान दिन सकेनन् । माओवादी सशस्त्र संघर्षमा संलग्न महिलाकै शब्दमा भन्नुपर्दा उनीहरूले गुमाएको अनुभव गरेको सबैभन्दा महत्वपूर्ण कुरा ‘शिक्षा’ थियो । हो, शिक्षाले वेबरले भनेजस्तै मान्छेको ‘स्ट्याटस’ (स्थान) निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
माओवादीकै अध्ययनले संघर्षमा सामेल बहुसंख्यक महिला गरिब किसान रहेको देखाउँछ । माओवादीमा सामेल महिलाहरुमा ४१ प्रतिशत गरिब किसान र ५३ प्रतिशत गरिब, मजदुर अर्धमजदुर रहेको देखाउँछ । यी तथ्याकंको आधारमा पनि के भन्न सकिन्छ भने माओवादीमा सामेल हुने धेरै महिला गरिब परिवारबाट आएका थिए र उनीहरु शान्ति सम्झौतापछि पनि थप गरिबीको चपेटामा परे ।
पहिलेदेखि नै आर्थिक अवस्था कमजोर रहेका महिला लडाकुले स्वैच्छिक अवकाश रोज्दा पाएको रकम उपचार र दैनिक गुजाराम खर्च गरे । लामो समय संघर्षमा बिताएका उनीहरुसँग अर्थोपार्जनको सीप नहुँदा पनि उनीहरुले थप आर्थिक संकटको सामना गर्न परिरहेको छ ।
अवस्था कतिसम्म पुगको छ भने, पूर्वमाओवादी लडाकुहरुले राज्यसँग उपचारखर्च माग्न १२ दिन अनशन नै बस्नुपर्यो । पूर्वलडाकुको यो अवस्थाले उनीहरु समाजमा समायोजन हुन नसकेको चित्र देखाउँछ । अझ जनयुद्धमा श्रीमान् वा सन्तान गुमाएका महिला लडाकुको सामाजिक जीवन थप पीडादायी बनेको छ ।
माओवादी संघर्षमा रहँदा प्रेम/अन्तरजातीय विवाह गरे पनि शान्ति–सम्झौतापछि आर्थिक र सामाजिक कारण देखाउँदै कैयौँ महिला लडाकुलाई पतिले त्यागेका घटना पनि छन् । जनयुद्धकालमै बिहे गरेकी पार्वती पुनको पेटमा गोली लागेपछि उनी गर्भधारण गर्न नसक्ने भइन् । पुनले गर्भधारण गर्न नसक्ने देखेपछि श्रीमान्ले सम्बन्धविच्छेद गरेको सुनाएकी थिइन् ।
महिलालाई सामाजिक न्याय दिलाउने आश्वासनसहित संघर्षमा सामेल भएका महिलाको अवस्था झन् दयनीय बन्यो । पित्रृसत्तात्मक शोषण हटाउने भन्दै लडाइँमा सामेल भएका महिलाले माओवादीभित्रै लैगिंक विभेदको सामना गर्नुपर्यो ।
माओवादी युद्धमा देखिएको महिला सक्रियताकै कारण अहिले महिला अधिकार धेरै हदसम्म सुरक्षित भए पनि, महिलालाई आफ्ना अधिकार प्राप्तिका लागि उत्प्रेरित गर्ने महिला लडाकु भने अहिले उपेक्षामा छन् । ‘जनयुद्ध’को रवाफमा छोरीलाई पनि छोरासरह पैतृक सम्पत्तिमा अधिकार दिलाउन सक्षम महिला माओवादीको प्रयासले नै अहिले संविधानले महिलालाई पनि पैतृक सम्पत्तिमा छोरासरह अधिकार दिएको हो भन्नेमा धेरैको एकमत छ ।
यति हुँदाहुँदै पनि युद्धमा सामेल महिला अहिले समाजमा हेलाँको पात्र बनेको बताउँछिन्, पार्वती पुन । महिला अधिकारका मुद्दा उठाउनेकै आवाज सुन्न छाडिएको भन्दै पुन भन्छिन्, ‘हामीले गर्दा नै आज महिला यसरी बोल्न पाएका छन् । हामीले नै महिलालाई बोल्न सिकायौँ, तर दुर्भाग्य अहिले हाम्रै आवाज सुन्न छाडिएको छ ।’
पुनकै भनाइलाई आधार मान्ने हो भने पनि संघर्षमा सहभागी भएका पुरुषको तुलनामा महिलालाई समाजमा समायोजन हुन अझ धेरै कठिन भइरहेको छ । शारीरिक रूपमा अपांग भएका महिलाले अझै पनि घरजम गर्न पाएका छैनन् भने अर्कोतिर अपागंताकै कारण काम गर्न नसक्दा उनीहरुले दोहोरो मार झेल्नुपरेको छ ।
‘२१औँ सताब्दीको क्रान्ति सम्पन्न गर्ने र प्रतिक्रान्ति रोक्ने क्षमता महिलाहरुमा छ ।’ कमला रोकाको लेखअनुसार यो ‘जनयुद्धको भीषण लम्बे अभियानमा अध्यक्ष प्रचण्डले संस्लेषण गर्नुभएको विचार’ हो । तर, क्रान्ति सम्पन्न गर्ने र रोक्नेसम्म क्षमता राख्ने तिनै महिला लडाकुबारे अहिले माओवादी नेतृत्व बेखबर छ ।
सन्दर्भ स्रोत:
दीपक सापकोटा, उथलपुथलका दश वर्ष ।
मार्टिन चौतारी, माओवादी विद्रोह सशस्त्र संघर्षको अवधि ।
मार्टिन चौतारी, राजनीतिक जोखिम र पूर्वलडाकुहरु ।
फरकधार, समाजका लागि हिजो बन्दुक बोक्ने महिलाहरु आज न्याय माग्न बैशाखी टेक्दै सडकमा ।
लेखनाथ न्यौपाने, संघर्षको इतिहास ।
हिमाल खबर पत्रिका, लडाकुलाई सेना बनाउन २० अर्ब ।
थोमस ए मार्कस, माओवादी ‘जनयुद्ध’मा महिला ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।