बैंक तथा वित्तीय संस्थाले ब्याजदर नघटाए नीतिगत हस्तक्षेप गर्ने गृहमन्त्रीको चेतावनी

गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन आग्रह गरेका छन् । उनले ब्याजदर नघटाए सरकारले नीतिगत हस्तक्षेप गर्ने चेतावनीसमेत दिएका छन् । 

बिहीबार बुटवलमा रुपन्देही उद्योग संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन समारोहमा बोल्दै गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन आग्रह गरे । ‘ब्याजदर नघटाए सरकार नीतिगत हस्तक्षेप गर्न बाध्य हुन्छ,’ उनले भने । 

उद्योग क्षेत्र थला पर्दा त्यसको असर बैंक तथा वित्तीय क्षेत्रमा समेत पर्ने भन्दै गृहमन्त्री खाणले यसतर्फ संवेदनशील बन्न आग्रह गरे । ‘बैंक तथा वित्तीय क्षेत्र माथि उठ्नका लागि पनि उद्योग क्षेत्रको विकास हुनुपर्छ । यसका लागि ब्याजदर घटाउनु जरुरी छ,’ उनले भने । 

कोभिडपछि कमजोर बनेका उद्योगी व्यवसायी बैंकको चर्को ब्याजदरका कारण झनै कमजोर बनेको गृहमन्त्रीको टिप्पणी छ । 

उनले उद्योगी व्यवसायीहरुको संरक्षण र संवर्द्धन सरकार तथा सबै जनप्रतिनिधिहरुको साझा दायित्व भएको समेत बताए । ‘सरकार एउटा पक्ष र उद्योगी व्यवसायी अर्को पक्ष होइनन्, समस्या समाधान गर्ने सबैको साझा दायित्व हो,’ उनले भने ।

अब छिटै नयाँ सरकार बन्ने भन्दै उनले अबको सरकारको पहिलो प्राथमिकता र दायित्व आर्थिक गतिशीलता हुने बताए । उद्योगको विकास र अर्थतन्त्रलाई माथि उकास्ने काममा आगामी सरकार लाग्ने पनि उनले विश्वास व्यक्त गरे ।



बुटवलमा आयोजित प्रदर्शनीले उद्योगीलाई नयाँ ऊर्जा र शक्ति प्रदान गरेको पनि बताए ।



  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार २०:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया