‘भ्यालेन्टाइन्स डे’बारे के भन्छन् नेपाली साहित्यकार ?

काठमाडौं– प्राचीन रोमबाट सन् ३०० तिर ‘सेन्ट भ्यालेन्टाइन’ले प्रेमलाई जीवित राख्नका लागि गरेको समर्पण र त्यागको सम्मान गर्दै उनको सम्झनामा ‘भ्यालेन्टाइन्स डे’ मनाउन सुरु गरिएको हो । 

उनकै सम्झनमा यो उत्सव हरेक फेब्रुअरी १४ मा मनाइन्छ । तर, ‘भ्यालेन्टाइन्स विक’ भने एक सातायघि नै सुरु हुन्छ । फेब्रुअरी ७ देखि सुरु भएर फेब्रुअरी १४ का दिन यो सप्ताह सकिन्छ । 

‘भ्यालेन्टाइन्स डे’को पूर्वसन्ध्यामा आइपुग्दा संसारभरका प्रेमिल जोडीहरु उन्मादमा छन् । अचेल भ्यालेन्टाइन्सको उत्सवले नेपाललाई पनि राम्रैसँग छुन थालेको छ ।

तर, पछिल्लो समय नेपालमा पश्चिमी संस्कृति, सभ्यता, धर्मको प्रभाव बढेसँगै एकथरी नेपालीमा भने पश्चिमी समाजले मनाउने चाडपर्वप्रति नै वितृष्णा जागेको देखिन्छ । भ्यालेन्टाइन्स डेजस्ता पर्वले यहाँको मौलिक सभ्यता र संस्कृतिमाथि आक्रमण गरेको र विकृति फैलाएको भन्दै यसको प्रतिरोधमा उत्रनेको जमात पनि ठूलै छ । 

आकर्षण र प्रतिरोधका बीच फैलँदै गएको भ्यालेन्टाइन संस्कृतिलाई मध्यनजर गरी हामीले केही साहित्यकारसँग ‘भ्यालेन्टाइन्स डेलाई कसरी लिनुहुन्छ ?’ भनी प्रश्न गरेका छौँ । 

लेखक नारायण ढकाल भ्यालेन्टाइन्स उत्सवलाई नारी र पुरुषबीच भएको असमानता हटाउने अवसर ठान्छन् । ‘पहिलेको समाजमा प्रेमको भावना पुरुषले मात्र व्यक्त गर्न सक्थे । स्त्रीले कसैलाई मन पराए पनि आफ्नो भावना गुम्साएर राख्नुपर्थाे । त्यसले गर्दा पुरुष र महिलाबीच ठूलो असमानता थियो,’ ढकाल भन्छन्, ‘अहिले भ्यालेन्टाइन्सजस्ता उत्सवले गर्दा उनीहरुले आफ्नो स्वतन्त्रता, चहाना, भावना अभिव्यक्त गरेर आफ्नो जीवनको आयामलाई फराकिलो बनाउने अवसर पाएका छन्, त्यसलाई म एकदमै सकारात्मक भएको मान्छु ।’



आफ्नो समयमा यो कल्चरको प्रभाव नभएको ढकाल बताउँछन् । आफू युवा छँदा प्रेम गर्नुलाई पाप गरेसरह हेरिन्थ्यो । ‘कतिसम्म भने, मेरो एउटा साथीले अर्काे गाँउको केटीलाई प्रेम गरेको बहानामा पुरै गाउँकै मान्छेबाट कुटाइ खानुपरेको थियो,’ उनी सम्झन्छन् ।

प्रेमजस्तो पवित्र कुरालाई फैलाउन सहयोग गर्ने उत्सव नराम्रो नहुने उनको बुझाइ छ । भन्छन्, ‘कल्चर जताको भए पनि त्यसले समाजमा राम्रो सन्देश अथवा सकारात्मक प्रभाव पर्छ भने त्यसलाई राम्रो भन्नुपर्छ ।’



भ्यालेन्टाइनको समय एकअर्कालाई उपहार दिने कल्चर पनि ढकाललाई राम्रो लाग्छ । ‘कसैले कसैलाई प्रेम भावना दर्शाउँदा उपहार दिने भ्यालेन्टाइनको धेरै सकारात्मक पक्ष हो जस्तो लाग्छ मलाई,’ उनी भन्छन् । 

तर, साहित्यकार अमर न्यौपाने भने भ्यालेन्टाइनलाई एउटा फेसनको रुपमा लिने गरेको बताउँछन् । ‘तर, सबै फेसन नराम्रो हुन्छ भन्ने हुँदैन । हामी पश्चिमाहरुको रहनसहन, भेषभूषा, जीवनशैलीबाट धेरै प्राभावित छौ,’ न्यौपाने भन्छन्, ‘जब नेपालीहरुले विदेशी संस्कृतिबाट आएको सर्ट, पेन्ट लगाउन हुन्छ भने भ्यालेन्टाइन्स डे पनि मनाउन अस्वाभाविक हैन ।’

तर उनी भ्यालेन्टाइन्स डेमा पछिल्ला दिनमा नेपालीहरुले सिको गरेर धेरै विकृति ल्याइरहेको बताउँछन् । ‘भ्यालेन्टाइन्सको नाममा मान्छेले प्रेमलाई दुरुपयोग गरेको पनि देखिन्छ । भ्यालेन्टाइन्सका दिन विशेष गरेर युवाहरुले यौवनको आवेगमा आएर प्रेम प्रस्ताव राख्ने अनि फकाएर, फुल्याएर यौनसम्पर्क राख्ने, त्यसपिछ धोका दिने खालका कुराहरु पनि मौलाउँदै गएका छन्,’ उनी थप्छन्, ‘यसो हुँदा प्रेमसँगसँगै कसैको चरित्र पनि दुरुपयोग हुन्छ ।’

यी केही नकारात्मक पक्षबाहेक अरु सबै पक्ष राम्रै भएको न्यौपानेको धारणा छ । अन्त्यमा उनी भन्छन्, ‘कुनै दिनलाई विशेष मानेर कसैप्रति भएको आफ्नो भावना अभिव्यक्त गरेर मनाउनु पनि राम्रो कुरा हो ।’

अमरकै कुरामा धेरै सहमत छन्, लेखक सुविन भट्टराई । भ्यालेन्टाइन्स डेलाई आफूले न्युट्रल रुपमा हेर्ने उनी बताउँछन् । ‘प्रेम गर्नलाई कुनै दिन र मौसम कुरिरहनुपर्दैन । तर पनि कसैले कसैलाई प्रेमप्रस्ताव राख्छ भने यसमा म केही गलत देख्दिनँ,’ उनी भन्छन्, ‘भ्यालेन्टाइन्स डेले एउटा पुलको काम गर्छ । वर्षैंदेखि भन्न नसकेका कुरा यस दिनले भन्न सहयोग गर्छ । यो राम्रो पक्ष हो ।’

आफ्ना कलेज पढ्दै गरेका दिन सम्झँदै सुविन भन्छन्, ‘भ्यालेन्टाइन के हो भन्ने थाहा पाउँदाका दिनमा मैले पनि कसैलाई प्रेम प्रस्ताव गरेको थिएँ । माया त धेरै पहिलेबाटै गर्थें तर भन्न सकिरहेको थिइनँ । भ्यालेन्टाइने मलाई अभिव्यक्त गर्न सहयोग गर्यो ।’

पहिलो प्रेममा अस्वीकृत हुनुपरेकाले केही समय पीडित प्रेमी भएको हास्दै बताछँन् उनी । भन्छन्, ‘हामी राम्रो साथी मात्रै हौँ भन्ने उत्तर आएको थियो । त्यतिबेला जीवनमा ठूलै कुरा गुमाएँ भनेर प्रेमपीडित भएको पनि थिएँ । 

कहिलेकाहीँ कुनै कुरामा असफल हुँदा पनि त्यसको नतिजा राम्रौ हुने उनी ठान्छन् । ‘त्यो नतिजा सकारात्मक भएको भए म अर्कै मान्छे हुन्थेँ, असफल भएर अर्कै भएँ । आज जे भएँ, त्यसमा धेरै खुसी छु,’ उनी थप्छन् । 

भ्यालेन्टाइन्स डे मनाउने कुरामा अलि फरक धारण राख्छन्, कवि नवराज पराजुली । भ्यालेन्टाइन्सलाई लिएर आफूले कुनै ठोस धारणा नबनाएको बताउँछन् उनी । तर, पश्चिमा संस्कृति नेपालमा जुन तरिकाले मौलाउँदै छ, त्यसमा उनको कुनै विमति छैन । ‘संस्कृति पूर्वीया, पश्चिमा, यसको, त्यसको भन्ने हुँदैन,’ उनी भन्छन्, ‘यदि संस्कृति गलत छ भने त्यो हाम्रो आफ्नौ मौलिक भएर पनि के अर्थ राख्छ र !’ 

‘नेपालमा बोक्सीको आरोपमा दिसा खुवाउने चलन पनि छ । छाउपडीका नाममा महिलाहरुलाई लगेर गोठमा थुन्दा कतिले ज्यान गुमाउनुपरेको छ,’ उदाहरण दिँदै उनी प्रश्न गर्छन्, ‘अब यसलाई हाम्रो संकृति, चालचलन भनेर राम्रो भन्नुपर्छ र ?’

संस्कृति जुसुकैको भए पनि राम्रो छ भने त्यसलाई स्वीकार गर्न हुने उनको मत छ । भ्यालेन्टाइन्सका दिन एउटाले अर्काेलाई आफ्नो भावना व्यक्त गर्ने भएकाले उनलाई यो गलत लाग्दैन । 

‘भ्यालेन्टाइन्स डेलाई लिएर जबसम्म संसारमा कसैलाई हानि हुँदैन, तबसम्म संसारको हरेक कुनामा मनाउनुपर्छ,’ उनी भन्छन् । 

नवराज यो भ्यालेन्टाइन्स डेका दिन कविता कन्सर्ट लिएर युरोप जाँदै छन् । ‘मैले अहिलेसम्म यस दिनमा कसैलाई उपहार दिएर त प्रस्ताव राखेको छैन, न त मलाई नै कसैले गरेका छन्,’ अन्तमा उनी भन्छन्, ‘तर, यो पालिको भ्यालेन्टाइन्स डेमा पनि मेरो कविता कन्सर्ट छ । यसलाई यस भ्यालेन्टाइन्स डेले दिएको उपहार सम्झेको छु ।’

साहित्यकार रामलाल जोशीको मत फरक छ । ‘पाश्चिमाहरुको सिको गरेर त्यसलाई भ्यालेन्टाइन्स मानेर त्यसमा लिन भएर उत्सव मनाउनु मलाई त्यति ठीक लाग्दैन । मायाको प्रस्ताव गर्न पनि कुनै दिनलाई कुर्नुपर्छ ?’ जोशी भन्छन्, ‘आजभोलि अधिकांश केटाकेटीले अरुले मनाएको भ्यालेन्टाइन्स डेको सिको गर्दै नक्कल गर्दै गरेको देखिन्छ ।’

तर, उनको प्रेमप्रतिको दृष्टिकोण भने निकै उदार छ । कुनै एक दिन मात्र प्रेम गर्ने दिन नहुने उनी बताउँछन् । भन्छन्, ‘माया गर्नेहरुले हरेक दिन प्रेम दिवस मनाउन सक्नुपर्छ ।’

  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार २२:५२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया