धनुषाको ढल्केवरमा सन्चालनमा आएको १० मेगावट विद्युत् उत्पादन गरिरहेको सोलार फार्मको सन्चालक कम्पनी इको पावर डेभलपमेन्ट कम्पनी (इको) र यसको निर्माणका लागि ठेक्काको जिम्मा पाएको कुशल प्रोजेक्ट्स प्राइभेट लिमिटेड (कुशल)लाई पुँजी र आर्थिक अपचलनमा प्राइम कमर्सियल बैंकले पनि सहयोग गरेको देखिन आएको छ ।
प्राइम बैंकका उच्च अधिकारीको सहयोगमा इकोले कुशलसँग मिलेर गलत पुँजीको निर्माण गरेको खुलासा भएको हो । इकोका लागि नविन कुमार सिंह र कुशलका लागि यसका संस्थापक तथा अध्यक्ष प्रशान्त तातेडले योजनाबद्ध रुपमा यस्तो सहकार्य गरेको खुलेको छ ।
इकोका सन्चालक भोजराज सिग्देल र कुशलका सन्दीप अग्रवालबीच भएको सम्झौताअनुसार यो पावर कम्पनीको निर्माण ४५ करोड ५१ लाखमा भए पनि बैंकिङ प्रयोजनका लागि यसलाई ८६ करोड देखाइएको छ ।
इकाे पावरबारे फरकधारका यी समाचार पनि पढ्नुहाेस्—
यसरी गरिन्छ कम्पनीको नाममा बैकिङ ठगी, सोलार फार्मको नाममा प्रशान्त तातैडलगायतहरुको संगठित ‘अपराध’
प्रोजेक्ट लोनमा ६० करोड २० लाख स्वीकृति दिएको प्राइम बैंकले कम्पनी वा यसका सन्चालकसँग ३० प्रतिशत लगानीका लागि योग्य रकम नभएको विषयलाई नजरअन्दाज गरेर कुशल र इको मिलेर प्रोजेक्टको लागत ८६ करोड भनेर पेश गरेका ‘फेक’ डकुमेन्ट बनाउन पनि प्राइम बैंकले मद्दत गरेको देखिन्छ ।
‘यो विषयमा हामीलाई धेरै थाहा हुने कुरा होइन, कन्सल्टेन्टले के दिएको छ, त्यसको आधारमा हामीले ऋण प्रवाह गरेका हौँ,’ प्राइम बैंकका ऋण विभागका प्रमुख भुषण श्रेष्ठले फरकधारसँग भने, ‘मैले फरकधारमा समाचार आएपछि यो विषयमा इकोका मान्छेहरुलाई सोधेको थिएँ, उनीहरुले हामीले यो विषय सेटल गरिसक्यौँ भनेका थिए ।’
यसअघि यही विषयमा कुराकानी गर्दा प्रशान्त तातेडले दिएको जवाफ र भुषणले दिएको जवाफमा अर्को पनि समानता छ । उनीहरु दुवैले यो सोलार फार्म निर्माणका लागि पुँजी अपचलनमा इको र कुशलबीच सम्झौता भएको रहेछ नि भन्ने प्रश्नमा दिएको जवाफ हो, ‘नेपालमा त्यति थोरैमा त विद्युत् उत्पादन हुने सोलार प्रोजेक्ट कसरी बन्छ होला र ?’ तर, दुवैले आफूहरुले पुँजी अपचलन गरेर निर्माण गरेर बैंकिङ नियमावलीभन्दा विपरित गएर काम गरेको स्पष्ट स्वीकार्न चाहेनन् ।
उनले आफूहरुले इकोको साइट भिजिट गरेर र कन्सल्टेन्टले दिएको बिलहरु तथा अन्य आधारमा ऋण प्रवाह गरेको बताए । उनले यो कम्पनी निर्माणका लागि पुँजी अपचलन भएको विषयमा पनि आफू अनभिज्ञ रहेको बताए । ‘यो विषयमा मलाई थाहा भएन,’ उनले भने ।
तर, उनले प्रोजेक्ट लोनबाट इकोका नविनकुमार सिंहले व्यक्तिगत रुपमा लाखौँ रुपैयाँ कसरी झिके भन्ने विषयमा आफूलाई थाहा नभएको बताए । प्रोजेक्ट लोनअनुसार प्रोजेक्ट निर्माणमा भएको खर्चमा मात्र बैंकले पैसा पारित गर्ने गर्छ । तर, यो सन्दर्भमा इकोका नविनले कम्पनीको एकाउन्टबाट बारम्बार लाखौं रुपैयाँ आफ्नो खातामा ट्रान्सफर गरेको देखिन्छ ।
यसमा प्राइम बैंककै उच्च अधिकारीहरुको पनि संलग्नता रहेको विषयमा नेपाल राष्ट्र बैंकमा उजुरी परेको राष्ट्र बैंक स्रोतले फरकधारलाई जानकारी दिएको छ । यही विषयमा हामीले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । इको पावरमा प्राइम बैंकले लगानी गर्दा भोजराज सिग्देलको नाममा कम्पनीको ५१ प्रतिशत सेयर देखिन्छ । तर, बैंकले सिग्देलले गर्नु पर्ने लगानीको पुँजीलाई अपचलन गर्दै नवीनकुमार सिंह र तातेडसँग मिलेर ऋण प्रवाह गरेको देखिन्छ ।
प्राइम बैंकले यसरी ऋण प्रवाह गर्दा नेपालका कमर्सियल बैंकहरुमाथि नै प्रश्न उठ्न थालेको बैंकिङ विशेषज्ञहरुले बताउन थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।