बागमतीमा राजनीतिक दललाई संसदीय नेता चुन्नै सकस

गत मंसिर ४ को निर्वाचनबाट सांसदहरू चुनिएसँगै सरकार गठन तथा संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ । भर्खरै मात्रै केन्द्रको छिनोफानो लागेको संसदीय दलको नेता छान्ने कसरत अब प्रदेशमा पनि सुरु भएको छ । 

आगामी ५ वर्षको लागि प्रदेश सञ्चालन गर्न बागमती प्रदेशमा ११० सांसदहरू निर्वाचित भएर आइसकेका छन् । नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण टुंगो लागिसकेको अवस्थामा संसदीय दलको नेता चयनमा भने राजनीतिक दलहरू अझै अलमलमा नै देखिन्छन् । 

बागमती प्रदेश सरकारको दोस्रो कार्यकालको सुरुवात अबको केही दिनमा नै हुँदै छ । प्रदेश सभामा इन्ट्रि भएका सात राजनीतिक दलहरू मध्ये सरकारमा को जाने भन्ने विषय त्यति असहज छैन । कारण बागमती प्रदेश सभामा लोकतान्त्रिक सत्ता गठबन्धनको बहुमत छ । त्यसमध्ये पनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ ।

सरकार गठनको प्रक्रिया पहिलो प्रदेश सभा बैठक पछि मात्रै टुंगोमा पुग्ने बताइँदै आएको अवस्थामा राजनीतिक दलहरूलाई आफ्नो पार्टीको संसदीय नेता चुन्न सकस देखिएको छ । पार्टीको संसदीय दलको नेतामा कसलाई उभ्याउने भन्ने विषय पेचिलो बनिरहेको पार्टीकै नेताहरूको दाबी छ । 

संसदीय दलको नेता चुन्नका लागि नेकपा एकीकृत समाजवादी पनि गृहकार्य सुरु गरिसकेको नवनिर्वाचित सांसद कृष्ण शर्मा खनालले बताए । तर सहमतिबाटै दलको नेता छान्नेमा भने एस ढुक्क रहेको उनले बताए । उनले भने, ‘को हुने भन्ने कुरा अहिले नै टुंगिएको त छैन । तर जो भए पनि सहमतिमै हुन्छ ।’

नेकपा एमाले पनि आफ्नो दलको संसदीय नेता चुन्न सहमतिबाटै जाने नवनिर्वाचित सांसद जगन्नाथ थपलिया बताउँछन् । प्रदेश सभामा दोस्रो सिटमा रहेको एमालेको संसदीयको दलको नेता हुन तपाईँकै कसरत छ भन्ने चर्चा छ नि ?, भन्ने प्रश्नमा उनले भने, ‘चर्चा चल्नु राम्रो कुरा हो । पार्टीले दिए म हुन सक्छु । ज्येष्ठताको आधार र दक्षताको आधारमा पनि म योग्य छु । तर पार्टीको निर्णयलाई नै मान्न पर्छ र मान्छु पनि ।’  



त्यसो त नेकपा माओवादी केन्द्र पनि प्रदेश संसदीय दलको नेता सहमतिबाटै टुङ्ग्याउने पक्षमा देखिएको सांसद सरल सहयात्रीले बताए । निर्वाचन प्रणालीमा जाने विषय अहिले सम्म पनि नउठेको र केन्द्रमा सहमतिबाटै टुंगो लगाइएको जसरी नै प्रदेशमा पनि टुंगो लगाउने उनले बताए । 

सत्ता गठबन्धनको नेतृत्वकर्ता एवम् प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबीसहित छलफलमा छ । तर, सो दलभित्रै संसदीय दलको नेता को बन्ने भन्ने विवाद चर्किएपछि नेपाली कांग्रेसले भने केन्द्रकै सिको गर्दै निर्वाचन प्रणालीमा जाने निर्णय गरेको छ । सरकारको नेतृत्वमा कांग्रेसलाई एकातर्फ सत्ता गठबन्धनका दलको दबाब त छदैछ, अर्को तर्फ आफ्नै दलभित्रको विवादले समस्या देखिएको छ । संसदीय दलको नेता बन्न कांग्रेसमा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँबीचमा निर्वाचन हुने भएको छ । 



सरकार गठनको अंकगणित सुरु भइरहेको बेला अधिकांश राजनीतिक दलहरूले आफ्नो पार्टीको संसदीय दलको नेता चुन्न केन्द्रको निर्णय कुरिरहेको प्रस्ट देख्न सकिन्छ । कांग्रेस बाहेकका अन्य राजनीतिक दलहरुभने सकेसम्म सहमतिबाटै संसदीय दलको टुंगो लगाउने प्रयासमा जुटिरहेका छन् । यद्यपि, प्रदेश संसदीय दलको नेतामा कुन पार्टीले कसलाई उभ्याउला त्यो हेर्न भने अझै केही दिन लाग्ने देखिएको छ । 
 

  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार १२:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया