क्षीरेश्वरनाथ नगरपालिका-१० का वडाध्यक्षमाथि लाग्यो युवकलाई कुटपिट गरेको आरोप

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१० का वडाध्यक्षमाथि युवकमाथि निर्घात कुटपिट गरेको आरोप लागेको छ ।

वडाध्यक्ष रामपदारथ यादव र स्थानीय कमलेश यादवमाथि सोही ठाउँ बस्ने २२ महेशप्रसाद यादवलाई निर्घात कुटपिट गरेको आरोप लागेको हो । 

महेशका अनुसार शनिबार साँझ आफूहरू पिकनिक मनाएर डिजे बजाउँदै घर फर्किरहेको बेला कमलेश र रामपदारथले चोहर्बा भन्ने ठाउँमा बीच बाटोमै रोकी आफूलाई कुटपिट गरेको दुःखजिलो सुनाए ।

‘उनीहरूले मेरा अन्य साथीलाई धाकधम्की दिएर त्यहाँबाट भगाइदियो । मलाई एक्लै घेरेर बाँस, इँटालगायतले निर्घात कुटपिट गर्न थाल्यो । म अचेत अवस्थामा पुगेपछि उनीहरुले मलाई एक्लै छाडेर भागे,’ उनले भने ।

दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कानलगायत शरीरको अधिकांश भागमा चोट लागेको पीडितले बताए । पीडितका साथीद्वय गोविन्दकुमार राम र सुनिलकुमार रामले पनि आफूहरू पिकनिक मनाएर घर फर्किरहेको बेला बीचबाटोमै अचानक रोकेर महेशलाई घेरा हाली कुटपिट गरेको बताए । वडाध्यक्ष रामपदारथले आफूहरुलाई धम्की दिएर त्यहाँबाट भगाएको उनले सुनाए । 

पीडितका पिता अशेश्वर यादवले पुरानो रिसइबीका कारण वडाध्यक्ष यादवले आफ्नो छोरामाथि निर्घात कुटपिट गरेको हुनसक्ने बताए । 



उनले भने, ‘स्थानीय निर्वाचनकै बेलादेखि रामपदारथसँग मेरो परिवारको मनमुटाव थियो । उनी कांग्रेस र हामी एमाले हौँ । हामीले उनीहरूलाई चुनावमा सहयोग नगरेको झोकमा मौका छोपी मेरो छोरालाई कुटपिट गरेका छन् ।’

घाइते महेशको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । यता घटनाको विषयमा वडाध्यक्ष रामपदारथसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन सकेनन् । 



  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १४:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया