महोत्तरीमा मलद्वारमा पेट्रोल छर्केर आगो लगाई एक मजदुरको हत्या गरिएको घटना बाहिरिएको छ । जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर-२ पर्सादेवाड बस्ने ४९ वर्षीय मजदुर मोहम्मद खुर्सैद अन्सारीको मलद्वारमा पेट्रोल छर्केर स्थानीय ३५ वर्षीय मोहम्मद अब्दुल सलामले हत्या गरेको बताइएको छ ।
सलामले गत बुधबार अन्सारीको मलद्वारमा आगो लगाएर उनलाई अचेत अवस्थामा उनकै घर अगाडि फालेर भागेका थिए । अचेत अवस्थामा रहेका उनको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको छ ।
मजदुरी गरेर कमाई गर्ने खुर्सैदलाई सलामले आफ्नो घरमा काम गर्नकालागि बोलाएका थिए । घरमा काम गरेवापत महिनाको १५ हजार पारिश्रमिक दिने सहमति भएको थियो । सोहीक्रममा खुर्सैदले कुनै सामान्य गल्ती गरेकोले सलामले उनको हत्या नै गरेको बताइएको छ ।
अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सलामले अन्सारीलाई मलद्वारमा पेट्रोल छर्किरहेको भिडियो पनि प्रहरीले फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाले सलामलाई घटना भएकै दिन पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । उनीमाथि ज्यानमार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाइसकिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य दुईजनाको खोजी भइरहेको प्रहरी उपरीक्षक पंगेनीले बताए । पक्राउ परेका सलाम लागूऔषध मुद्दामा पहिले पनि दुई पटक पक्राउ परिसकेका छन् ।
मृतकका भाइ समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनु पर्ने माग गरेका छन् । घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मृतक अन्सारीका ६ सन्तान छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।