सहिद स्मृति विद्यालयमा पूर्वाधार अभाव

लमही– द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको दाङको तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित शहीद स्मृति आवासीय माविमा पूर्वाधार अभाव छ । पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । 

विद्यालयका प्रधानाध्यापक नारायण पौडेलका अनुसार पूर्वाधार जीर्ण हुँदा विद्यार्थीलाई बस्न समस्या भएको छ । अहिले विद्यालयमा ४७० विद्यार्थी अध्ययनरत छन् । चार सय ११ विद्यार्थी विद्यालयमै बस्ने गरेका छन् । ‘आवासीय विद्यार्थीका लागि भवनको अभाव छ’ प्रअ पौडेलले भने, ‘एउटै कोठामा २६ विद्यार्थीलाई राख्नुुपर्ने अवस्था छ ।’ 

विद्यार्थीको आवासका लागि दुई भवन छन् । छात्र र छात्राका लागि १२–१२ कोठाको व्यवस्था गरिएको छ । कोठा अभावमा शिक्षकलाई बस्न समस्या भएको छ । सरकारले शहीद, बेपत्ता, घाइते र अपाङ्गता भएकाका छोराछोरीलाई पठनपाठन गराउन सञ्चालन गरेको उक्त विद्यालय अहिले स्थानीय सरकार मातहत आएको छ । ‘एउटै कक्षामा ५०/६० विद्यार्थी राख्नुपर्ने अवस्था छ’, प्रअ पौडेलले भने, ‘विद्यार्थीको चाप निकै छ, चापअनुसार तिक पूर्वाधार पनि थप गर्नुपर्छ ।’ 

विद्यालयमा द्वन्द्वपीडित छात्रछात्रा कक्षा १२ सम्म पढ्छन् । आर्थिक अभावका कारण उनीहरुले स्नातक तह पढ्न पाएका छैनन् । ‘स्नातक तह निःशुल्क पढ्न कक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ’, प्रअ पौडेलले भने विद्यालयमा बाल विकास कक्षा नहुँदासमेत समस्या भएको छ । ‘द्वन्द्वपीडित बालबालिका पढ्न आउँछन्, उनीहरुलाई एकैपटक कक्षा १ मा राख्न समस्या हुने गरेका छ’, उनले उनले भने ।  

विद्यालयमा सबै शिक्षक करारमा कार्यरत छन् । विसं २०६४ मा स्थापना भएको सो विद्यालयमा तत्कालीन प्राविको पाँच, निमाविको चार, माविको पाँच र एक लेखापालको दरबन्दी छ । ‘दरबन्दी थप नहुँदा समस्या भएको छ’, प्रअ पौडेलले भने । सबै करार शिक्षकलाई स्थायी गर्नुपर्ने उनको माग छ । विद्यालयमा थप दुई ‘पार्ट टाइम’ शिक्षक र पाँच आवास व्यवस्थापन कर्मचारी छन् ।  

विद्यालय स्थानीय तह मातहत आएकाले व्यवस्थित गर्ने जिम्मेवारी तुलसीपुर उपमहानगरपालिकाले लिने उपमहानगर शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले बताए । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरी सहजै रोजगार पाउने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए । 





  • प्रकाशित मिति : फागुन २, २०७५ बिहीबार ८:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया