राष्ट्रपति विद्यादेवी भण्डारीले अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको बताएका छन् । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवन उपयोगी सिकाइ ग्रहण गर्न सक्दछ ।’
उनले ज्येष्ठ नागरिकमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्ने बताइन् । उनले ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि शुभकामना व्यक्त गरेकी छन् ।
११ पुस २०५१ मा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।
यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।
ज्येष्ठ नागरिकको मर्यादित जीवन एवं सहज जीवनयापनका लागि परिवारका सदस्य, समाज, सङ्घसंस्था एवं तिनै तहका सरकारले समन्वयात्मक रूपमा सहकार्य गर्नुपर्ने राष्ट्रपतिको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।