नवनिर्वाचित मधेस प्रदेशसभा सदस्यको शपथग्रहण पुस १५ गते

नवनिर्वाचित मधेस प्रदेशसभा सदस्यको शपथग्रहण पुस १५ गते शुक्रबार हुने तय भएको छ । मधेस प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सोमबार आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । 

प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले सर्वदलीय बैठकमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण पुस १५ गते शुक्रबार दिउँसो २ बजे हुने तय भएको जानकारी दिएका छन् । 

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोवीन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउने उनले बताए । 

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । 

शपथग्रहण कार्यक्रममा उपस्थित हुनुअघि निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाण पत्र (सक्कल तथा एकप्रति प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सचिवालयले प्रदेशसभा सदस्यहरुलाई अनुरोध गरेको छ ।



प्रदेशसभाका कुनै सदस्यले आ–आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम ३ दिन अगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन समेत सूचित गरिएको सचिव यादवले जानकारी दिए । 



  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १५:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया