माधव र उपेन्द्रसँग प्रचण्डको भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।

यी दुई पार्टीलाई सरकारमा ल्याउने तयारीस्वरूप प्रचण्डले नेपाल र यादवसँग भेटवार्ता गरेका हुन् । स्रोतका अनुसार आज बिहान ललितपुरको हात्तीवनमा भएको भेटवार्ताका क्रममा प्रचण्डले नेपाल र यादवलाई सरकारमा सामेल हुन आग्रह गरेका थिए ।

प्रचण्डको प्रस्तावमा नेपालले पार्टीमा छलफलपछि मात्र जवाफ दिने प्रतिक्रिया दिए ।  ‘तपाईँको प्रस्तावलाई म पार्टीको औपचारिक बैठकमा राख्नेछु । त्यहाँ के सुझाव आउँछ त्यसपछि अघि बढौँला । तपाईँले पनि ठोस प्रस्ताव राख्नुपर्‍यो,’ नेपालले भने ।

१० पुसमा एमाले, नेपाल स्वतन्त्र पार्टी, जसपा, राप्रपालगायत पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अहिलेको गठबन्धनमा एकीकृत समाजवादी भने छैन ।

गठबन्धनलाई थप बलियो बनाउन प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने तयारी थालेका छन् । संसद् अधिवेशन सुरु भएलगत्तै प्रचण्डले नेपाल र यादवलाई सरकारमा सहभागी गराउने गरी छलफल थालेका हुन् ।  

संसदको पहिलो अधिवेशन यही २५ पुसमा बोलाइएको छ । संसद् अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी रहेको छ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अहिले आठ सदस्यीय छ । 



अहिले सरकारमा नेकपा एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । 

एमालेकी ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमा राई र जनमत पार्टीका अब्दुल खानले पनि मन्त्रीको शपथ लिइसकेका छन् । यद्यपि उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ । अरू दललाई पनि सरकारमा सहभागी गराएपछि साह, भण्डारी, राई र खानको मन्त्रालयको टुंगो लाग्ने बताइएको छ ।



  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १०:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया