गाउँपालिकाको उपहार : गर्भवतीलाई नुन, सुत्केरीलाई तेल

रुकुमपूर्व– मातृशिशु मृत्युदर कम गर्न जिल्लाको सिस्ने गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ । गाउँपालिकाभित्रका सबै स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउनेले नुन र सुत्केरी हुन आउनेले तेल उपहार पाउन थालेका छन् । 

सरकारले घोषणा गरेको आमा सुरुक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो कार्यक्रम सुरु गरिएको सिस्ने गाउँपालिकाका स्वास्थ्य संयोजक धनबहादुर केसी बताउँछन् । तेस्रो गाउँसभाबाट पारित नीतिलाई गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो । 

गाउँपालिकाले नुन र तेल उपहार पाउन गर्भवतीले कम्तीमा चारपटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेलगायत मापदण्ड तोकेको छ । 

गर्भवती महिलाले एकपटक गर्भ जाँच गराएमा एक पोका, दुईपटक गराएमा दुई पोका र चारपटकसम्म गराएमा चार पोका आयोडिनयुक्त नुन र सुत्केरी भएपछि एक लिटर तोरीको तेल उपहार दिइने गाउँपालिका अध्यक्ष कुमारी बराल बतउँछन् । उनका अनुसार, आयोडिनको कमीले धेरैमा समस्या देखिएकाले गर्भ जाँच गर्न स्वास्थ्यचौकीमा आउने हरेक गर्भवतीलाई आयोडिनयुक्त नुनको पोका उपहार दिन थालिएको हो । 

‘गाउँपालिकाको तेस्रो गाउँसभाले पारित गरेको नीतिलाई असोज २२ गतेको गाउँकार्यपालिकाको बैठकले अनुमोदन गरेसँगै गर्भ जाँच गर्न पुगेकालाई नुन र सुत्केरी हुनेलाई तेल उपहार दिन थालिएको हो,’ अध्यक्ष बरालले भने, ‘आयोडिनयुक्त नुन उपहारस्वरुप दिँदा सानो पोका तथा थोरै देखिए पनि यसले विभिन्न प्रकारका रोगबाट बचाउने र वृद्धिविकासमा पनि सहयोग पुग्ने भएकाले यो निर्णय कार्यान्वयनमा ल्याएका छौँ ।’  

हाल गाउँपालिकाअन्तर्गत सबै स्वास्थ्य संस्थामा औषधिका साथै आयोडिनयुक्त नुन र तोरीको तेल राखिएका छन् । गाउँपालिकाले आफ्नै स्रोतबाट रकम छुट्याएर सुत्केरीलाई प्रोत्साहन भत्ता पनि दिने गरेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने कुनै पनि महिलालाई गाउँपालिकाले प्रोत्साहनबापत १०० र यातायात खर्चबापत ५०० गरी जम्मा ६०० दिने गरेको छ । 



संघीय सरकारले दिने प्रोत्साहन र यातायात खर्चबाहेक सुत्केरीलाई छुट्टै प्रोत्साहन र यातायात खर्च दिने नीति गाउँपालिकाले ल्याएको हो । घरमै सुत्केरी हुने प्रचलनको अन्त्य गर्न र आमा तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि यो कार्यक्रम ल्याइएको अध्यक्ष बरालको भनाइ छ । 

आठ वडा रहेको सिस्ने गाउँपालिकामा तीन प्रसूतिगृह छन् भने सबै वडामा स्वास्थ्य संस्था छन् । अहिले गाउँपालिकाको विभिन्न पाँच ठाउँमा सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरिएको छ भने बाँकी ठाउँमा पनि स्थापना गर्ने तयारी रहेको गाउँपालिकाका प्रवक्ता जीवन केसी बताउँछन् । गाउँपालिकाका विकट गाउँमा पनि सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरी स्वास्थ्य सेवामा सहजता कायम गर्न प्रयास गरिएको उनको भनाइ छ । –रासस



  • प्रकाशित मिति : फागुन २, २०७५ बिहीबार १७:०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया