रिपाेर्टरकाे डायरी
भ्यालेन्टाइन्स डेमा वसन्तपुरमा प्रश्न: आफ्नै बुढीलाई के गुलाव दिनु ?

काठमाडौं– पछिल्लो समय युवापुस्तालाई आफ्ना संस्कृति र चाडवाडबारे खासै मतलब छैन तर विदेशी परम्परा अनुसरण गर्न नेपाली युवाहरु निकै अगाडि  देखिन्छन्।

यसको ज्वलन्त उदाहरण हो– भ्यालेन्टाइन्स डे । अर्थात्, आज । १४ फ्रेबुअरीको दिन आज नेपालमा पनि भ्यालेन्टाइन्सको माहोल गज्जबको रह्यो । 

काठमाडौंका अधिकांश फुल पसलमा आजको दिन प्रेमको प्रतीक मानिने गुलाबको बिक्रीले रेकर्ड नै राख्यो । सिनेमा घरहरु हाउसफुल भए, गिफ्ट पसल र रेष्टुरेन्टहरुमा प्रेमील जोडीहरु निकै देखिए । 

अर्कोतिर, के एकदिन मात्र प्रेम जनाउने दिन हो र भन्नेहरु पनि कम छैनन् । 

जे होस्, यस्तो प्रतिक्रियालाई पूरै बेवास्ता गरेको छ, प्रेमको माहोलले । त्यसैले त हुनुपर्छ, काठमाडौंका गल्लीहरुमा हातमा हात समाएर प्रेमभावमा लिप्त युगल जोडीहरु कुनै यात्रामा निस्किएका छन्, जुन यात्रामा उनीहरु सुखका सपनाहरुमात्र बुनिरहेका छन् । 

मौसम चिसो भए पनि प्रेम माहोलले तातो बनाएको काठमाडौंको माहोललाई सांकेतिक रुपमा वसन्तपुर एक्लैले पनि बोकेको छ, आजको दिन । गितारको सुरिलो धुनमा होस् या मनबाट निस्किएका प्रेमका तरंगहरुमा किन नहोस्, वसन्तपुरको डबलीमा होस् या दरबार मार्गका रेष्टुरेन्टहरुमा किन नहोस्, सबै प्रेमिल मनहरुलाई प्रेमको स्पर्शले झपक्कै छोपेको छ । 



भ्यालेन्टाइन्स डेमा वसन्तपुरको माहोला कस्तो होला भनेर म दिउँसो एकपटक त्यता टहलिन पुगेँ । 

वसन्तपुरलाई आजको दिउँसो हेर्दा कसैले पनि अनुमान गर्न सक्दैनथ्यो, यो ठाउँ कुनै राजनीतिक महत्व पनि बोक्ने ठाउँ हो । यो त केवल लाग्थ्यो, प्रेमको सागर हो । जहाँ आउँछन् प्रेमीहरु र आलिङ्गनमा रमाउँछन् प्रेमिकाको । जहाँ आउँछन् मन देखिका भावनाहरु र जोडिन्छन् अर्को मनमा । मानौँ, वसन्तपुर हो एउटा त्यस्तै पुल जसले जोडिदिन्छ दुई मुटु ।



केही समयअघि उद्घाटन भएको गद्दी बैठक भवन बिहिबार एकोहोरो प्रेमको साक्षी बनिरहेको छ, प्रेममा पग्लिएका जोडीहरु खुला आकाशलाई साक्षी राखेर खाइरहेका छन् कसमहरु । 

आजभोलि सायद प्रेम पनि डिजिटलाइज्ड हुँदै गएको छ, भावनाहरु तारहरुबाट आदानप्रदान भइरहेका छन् । वसन्तपुरको माहोला हेर्दा लाग्छ– एउटा इयरफोनले साट्न सक्छ भावना, एउटा इयरफोनले बोक्न सक्छ सबै मनका कुराहरु । 

अलिक पर भुँइमा एकअर्काको छातीमा टाँसिएर बसेको छ एउटा जोडी । उनीहरु निशब्द छन्, चुपचाप छन् । तर, एउटा समानता छ, दुवैको कानसम्म पुगेको छ इयरफोनको सेतो तार । सायद त्यहीबाट कुनै गायकको स्वरमा उनीहरुको भावना मिलिरहेको छ । सायद त्यही भावनाले उनीहरुलाई बाँधिरहेको छ ।

यतिबेला मध्य दिन भइसकेको छ । वसन्तपुरमा कयौँ जोडीहरुले आफ्ना वाचा खाइसकेका छन् । अर्कोतिर आफ्ना प्रेमीलाई कुरेर बसिरहेकाहरु पनि नभएका होइनन् । कतिले हातमा रातो गुलाबको एक थुङ्गा लिएका छन्, कोही हातमा भएको गुलाबसँग सेल्फी खिचिरहेका छन् । कोही एउटा पट्यारलाग्दो कुराइको आभास अनुहारमा झल्काइरहेका छन् । केही बेरमा ती अनुहारहरु पनि खुसी हुनेछन्, आफ्ना प्रेमीहरुसँग ती आँखाले आँखा जुधाउने छन् र उनीहरुको मन पुग्ने छ कतै स्वप्निल संसारमा जहाँ ती दुई प्रेमीमात्र हुनेछन् । 

यी प्रेमीहरुलाई आफ्ना कस्टमर बनाउनेको पनि कमी छैन वसन्तपुरमा । आजकै लागि मात्र अस्थायी पसल थाप्नेहरु यहाँ दर्जनौँ देखिएका छन् । अस्थायी मात्र होइनन्, स्थायी पसलहरुमा पनि आजको दिन मगमग बास्ना चलेको छ गुलाबको । 

प्रेमलाई दर्शाउन पसलमा गुलाब किन्न पुग्नेहरु मोलमोलाई गरिरहेका छन्, कम पैसामा आफ्ना प्रेमीहरुलाई उनीहरु सायद मन्त्रमुग्ध पार्न चाहन्छन् । सायद, प्रेमको भावनामा पैसालाई बाधा बनाउन चाहँदैनन् । 

वसन्तपुर स्वाक्यरबाट अनसन जानेतिर दाहिने छेउमा छ, एउटा मन्दिर । त्यो मन्दिरको छेउमा पनि छन् थुप्रै गुलाब पसलहरु । अनि जोडीहरु त्यहाँ पनि बार्गेनिङ गरिरहेका छन् । 

एउटा अधबैंसे जोडी त्यति नै बेला त्यहाँ आइपुग्छन् । टक्क अडिन्छन् । अनि ती अधबैंसे पुरुषले एउटा पसलमा गुलाब बेचिरहेकी महिलालाई सोध्छन्– आज किन यतिका पसल र किन सबैमा गुलाब राखेका हुन् ? 

उनलाई थाहा रहेनछ, आज भ्यालेन्टाइन्स डे हो, प्रेमीप्रेमिका एकअर्कालाई गुलाब दिएर आफ्नो प्रेमलाई उत्कर्षमा पुर्याउँछन् ।

फिसिक्क हाँसिन् गुलाब साउनी । उनको अनुहारमा आश्चर्य झल्किन्थ्यो । उनलाई चाहिँ लाग्दो हो– त्यो अधबैंसे जोडी पनि भ्यालेन्टाइन्स डे मनाउन सहरमा सयर गरिरहेको छ ।

‘लौ किन रे ?’ साउनीले उल्टै प्रतिप्रश्न गरिन् । 

ती अधबैंसे युवा लजाएनन्, भने, ‘हो त आजसम्म यसरी यहाँ कसैले गुलाब त बेच्दैनथ्यो ।’

अब निश्चित भइन् साउनी, ती युवालाई थाहा छैन भ्यालेन्टाइन्स डे । यो सब अथ्र्याएपछि उनी फिसिक्क हाँसिन् र भनिन्– तपाईं पनि किनिदिनुस्, भाउजूलाई एउटा गुलाब । 

‘आफ्नै बुढीलाई पनि किन दिनु गुलाब ?’ ती युवा पनि हाँसे । 

आफ्नै बुढीलाई गुलाब दिन नहुने कारणबारे ती साउनीको अर्को प्रश्न खस्न नपाउँदै ती युवाले फेरि सोधिहाले, ‘कति पर्छ नि एउटालाई ?’

‘५० रुपैयाँ ।’

यी दुईको संवाद त्यहाँ सुन्नेहरु अरु पनि थिए । अन्तिममा युवाले भने, ‘यस्तो महङ्गो गुलाब किन दिनु बुढीलाई, दसैंमा घर जाँदा आफ्नै आँगनको ताजा गुलाब दिन्छु ।’

अब झन् हाँसोको फोहोरा सुनियो । ती दुई अधबैंसे जोडी आफ्नो बाटो लागे । साउनी गुलाबमा पानी छर्किँदै थिइन् । 

त्यहाँबाट फर्किएर न्युरोडपट्टी आइपुग्दा गुलाबका पत्रहरु बाटोभर खसेका थिए । 

मलाई मनमा लाग्यो– यी पत्रहरु जस्तै नखसोस् कसैको प्रेम, अनायसै अरुले कुल्चने ठाउँहरुमा । 

  • प्रकाशित मिति : फागुन २, २०७५ बिहीबार १८:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया