मुख्यमन्त्री कार्यालयमा ‘वार रुम’ !

पोखरा– दोस्रो विश्वयुद्धताका बेलायती प्रधानमन्त्री विन्स्टन चर्लिलले आफ्नो कार्यालयमा ‘वार रुम’ बनाएका थिए । युद्धका वेला वार रुमभित्र रणनीति निर्माण र सेना परिचालनका लागि छलफल, युद्धको अनुगमन र निर्देशनको काम हुन्थ्यो । 

अहिले, गण्डकी प्रदेश सरकारले चर्चिलकै शैलीमा मुख्यमन्त्री कार्यालयमा वार रुम बनाएको छ । तर, यतिखेर देश युद्धमा छैन, न त प्रदेश सरकारको युद्ध रणनीतिमा खास भूमिका नै रहन्छ । फेरि, किन चाहियाे त वार रुम ?

‘वार रुमबाट पहिले युद्ध कसरी लड्ने, कहाँ सेना खटाउने तयारी र अनुगमनको काम हुन्थ्यो,’ बिहीबार पत्रकार सम्मेलन गरेर वार रुमबारे जानकारी दिँदै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भने, ‘अब प्रदेशमा भइरहेको विकास निर्माणका स्थिति, भूकम्पपीडित, बाढीपहिरोपीडितको अवस्थालगायत विकास निर्माण र शान्ति सुरक्षाको अनुगमन हुन्छ ।’

मुख्मन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ ग्रहण गरेको फागुन ४ गते एक वर्ष हुँदै छ । सोही अवसरमा ‘वार रुम’ सुरु गर्न लागिएको बिहीबारको पत्रकार सम्मेलनमा मन्त्री किरण गुरुङले बताए । 

मन्त्री गुरुङका अनुसार प्रदेशको नीति तथा कार्यक्रमअनुसार नै वार रुम बनेको हो । वार रुममा विभिन्न प्रविधिको प्रयोग गरेर गण्डकी प्रदेशको ११ वटै जिल्लाको अनुगमन गर्ने सुविधा तयार हुने उनले बताए । 

विकास निर्माणको काम लथालिंग भएपछि चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीले वार रुमको कल्पना गरेको उनले खुलाए । वार रुम सुरु भएपछि मुख्यमन्त्री गुरुङले आफ्नो कार्यालयबाटै प्रादेशिक तथा राष्ट्रिय गौरवको आयोजनाहरूको अनुगमन गर्नेछन् । 



प्रदेशबाट सञ्चालन हुने ठूला आयोजनालाई अनुगमन गर्न, निर्देशन दिनका लागि वार रुमको परिकल्पना गरिएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले बताए । ‘प्रदेशअन्तर्गत सञ्चालन हुने प्रोजेक्टहरु एउटै सफ्टवेयरबाट अनुगमन गर्न यसको स्थापना गर्न लागिएको हो,’ उनले भने, ‘अनुगमन प्रभावकारी नभएकै कारण विकास निर्माणको काम लथालिंग भएको गुनासो आएपछि अनुगमनको पाटोलाई बलियो बनाउन यसो गरिएको हो ।’
 



  • प्रकाशित मिति : फागुन २, २०७५ बिहीबार १९:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया