डिफेन्डिङ च्याम्पियन एपिएफ २२औँ आहा–रारा पोखरा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । धरान फुटबल क्लबलाई २–० ले हराउँदै एपिएफ सेमिफाइनल पुगेको हो ।
पोखरा रंगशालामा शनिबार एपिएफका लागि विकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३७ औं मिनेटमा बुद्धिमान राईले सेन्टरबाट मिलाएको लामो पासलाई कलेक्ट गर्दै विकु तामाङले गोल गरेर सुरुआती अग्रता दिलाए ।
उनले धरानका डिफेन्स मनोज राई र सुनज विकलाई बिट गर्दै डी एरियाभित्रबाट गरेको ड्रप सट गोलमा परिणत भएको थियो । धरानका गोलकिपर सौरभ बरालले टप कर्नरसम्म बललाई हेरिरहे पनि कलेक्ट गर्न सकेनन् ।
खेलको ४०औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे । एपिएफका प्रदीप लामाले ३ भर्सेस ३ को अवस्थामा खड्कालाई पास दिए ।
खड्काबाट विकु तामाङले कलेक्ट गर्दै डी बक्स बाहिरबाट प्रहार गरे । उनको प्रहारमा विपक्षी गोलकिपरले पञ्च गर्दा रिबाउन्ड बलमा खड्काले गोल गर्दै विभागीय प्रभुत्व कामय गरे । खेलमा एपिएफका विकु तामाङ म्यान अफ दी म्याच भए ।
धरानले उद्घाटन खेलमा आयोजक सहारा क्लब १–० ले लाई हराएर क्वार्टरफाइनल प्रवेश गरेको थियो । एपिएफ डिफेन्डिङ च्याम्पियन भएकोले सीधै क्वार्टरफाइनल खेलेको हो ।
एपिएफले पुस २० मा त्रिभुवन आर्मी र संकटा क्लबबीच हुने खेलको विजेतासँग सेमीफाइनलमा भिड्नेछ ।
प्रतियोगिताअन्तर्गत आइतबार चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच क्वार्टरफाइनल हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।