नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पाँच वर्षपछि सरकार बनाउने गरी संगठन निर्माण र बिस्तारमा लाग्ने बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब संगठन निर्माणमा केन्द्रित हुने बताए ।
नेकपा (माओवादी केन्द्र)लगायतसँग गठबन्धन नगर्न पार्टीभित्र दबाब दिए पनि गठबन्धन गरिएको तर अहिले जोगाउन नसकिएको बताए ।
जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई पनि अपदस्थ गरिएको उदाहरण दिँदै उनले सत्ता समीकरणको फेरबदललाई अनपेक्षित घटनाका रुपमा लिनुपर्ने बताए ।
सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई आग्रह गर्दै झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले भने, ‘बहुदलीय व्यवस्था नै विघटन गर्दा पनि जीवित रहेको नेपाली कांग्रेस सत्ताबाट बाहिरिँदैमा आत्तिन्न,’ उनले भने ।
बिपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै महामन्त्री शर्माले अबका दिनमा पार्टी एकजुट भइ अघि बढ्ने बताए । कांग्रेस नेतृत्वको सत्ता समीकरण भत्किएको विषयमा पार्टीभित्र निर्मम र गम्भीर समीक्षा हुने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।