बिहीबारबाट भृकुटीमण्डपमा १६औँ अन्तराष्ट्रिय फुटवेयर औद्याेगिक प्रदर्शनी हुने, यी हुन् आयोजनाको उद्देश्य र विशेषता

काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारबाट औद्योगिक प्रदर्शनी १६औँ अन्तराष्ट्रिय औद्याेगिक प्रदर्शनी सुरु हुने भएकाे छ । आइतबार पत्रकार सम्मेलन गरी साे औद्याेगिक प्रदर्शनीकाे उद्देश्यबारे जानकारी गराइयाे । प्रदर्शनीमा जुत्ता, चप्पल तथा छालाजन्य वस्तु राखिएकाे छ । 

यसअघि १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा विभिन्न राजनीतिक दलका नेता, विभिन्न सेलिब्रेटी तथा सर्वसाधारणले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न ब्राण्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुटसमेत दिइएको थियाे । १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा पनि साे छुटकाे व्यवस्था कायम छ ।

‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनमा आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ सुरू हुन लागेकाे प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको उत्पादन राखिने छन् । विदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले औद्योगिक प्रदर्शनी आयाेजना गरिएकाे हाे । 

हाल उद्योगहरुको अवस्था 

०७४ मा गरिएको अनुसन्धान अनुसार नेपालमा लघु उद्योग, साना, मझ्यौला र ठूला गरी देशभर छरिएर रहेका १५०० को संख्यामा जुत्ता चप्पल उत्पादक रहेको अनुमान छ । जसमध्ये ठूला तथा मझ्यौला २२९, साना तथा परम्परागत शिल्पीहरुमा आधारित १०७२ फेल्ट तथा हस्तकलामा अधारित २०० रहेका छन् ।

०७४ को अनुसन्धानका बखतको उत्पादनको अवस्था ४ करोड ३९ लाख जोर रहेकोमा हाल उत्पादन बढेर ५ करोड ६५ लाख पुगेको छ । हाल यस क्षेत्रका उद्योगहरुमा करिब ५५ हजार श्रमिक कार्यरत रहेको अनुमान गरिएको छ जसमध्ये एक तिहाई महिला प्रत्यक्ष रुपमा कार्यरत रहेका छन् ।



नेपालीहरुले प्रतिव्यक्ति सरदर ३ जोर विभिन्न प्रकारका जुत्ता चप्पल प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको छ । यस आधारमा हालको नेपालको जनसङ्ख्या ३ करोड लाई आधार मान्दा ९ करोड जोडी जुत्ता चप्पल आन्तरिक बजारको माग रहेको छ । 

चालु आ.ब. २०७७/२०७८ मा आयात ४,११,४६,१११ जोर र निर्यात २७,६४,६४३ जोर भएको देखिन्छ । यही तथ्यांक २०७६/७७ मा आयात २,२०,८८, ७६२ थियो भने २०७७/७८ मा १,९०,५७,३४९ जोर ले वृद्धि भएको देखिन्छ ।



उद्योगहरुको क्षमताको आधारमा हेर्दा ३५ प्रतिशत क्षमतामा मात्र उद्योगहरु सञ्चालनमा आएका छन् । दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयात, न्युन विजकीकरण र चोरी पैठारीका कारण स्वदेशी उद्योगलाई प्रभाव पारेको छ । तसर्थ क्षमता भन्दा कम उत्पादन गर्न उद्योगीहरु बाध्य हुनुपरेको छ ।

धेरै जसो ठूला र मझ्यौला उद्योगहरु काठमाडौं, विराटनगर, विरगंज, बुटवल र भैरहवामा रहेका छन् । ०७४ पछि उद्योगहरु स्थापना हुने क्रम बढ्दो छ ।

नेपाली उद्योगहरुको वार्षिक उत्पादन क्षमता १६ करोड जोर भन्दा माथि रहेको छ । उद्यमीहरुको यस क्षेत्रको लगानी ३० अर्ब भन्दा माथि छ भने ४ अर्बभन्दा माथि बैंक कर्जा रहेको छ ।

उत्पादन क्षमतालाई विश्लेषण गर्दा नेपाली फुटवेयर उद्योग क्षेत्र करिब ५ करोड जोरभन्दा माथि निर्यात गर्न सक्ने क्षमतामा रहेको छ ।

आयोजनाको उद्देश्य

आइतबार पत्रकार सम्मेलन गरी आयाेजकले १६औँ अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०७९ आयोजनाको उद्देश्य प्रष्ट पारेका छन् ।  
प्रमुख उद्देश्य निम्न छन् :

स्वदेशी उत्पादनका बारेमा नेपाल डिलर, होलसेलर तथा खुद्रा व्यापारीहरुलाई आफ्ना, उत्पादनकबारेमा जानकारी गराउनु,
स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्न प्रदर्शनी मेलाको माध्यमबाट ब्यापक प्रचार प्रसारगरी बाह्य बजार समेत बिस्तार गर्ने रणनीतिक पहल गर्नु,

विदेशी जुत्ता चप्पल तथा छालाका बस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका बस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्म निर्भर बनाउनु,

डिलर, होलसेल, खुद्रा विक्रेताहरुनै उत्पादन लाई सफल बनाउने मूल पात्रहरु भएका हुँदा उपभोत्ताका उत्पादकहरुले प्रत्यक्ष भेटी उनीहरुका गुनासा तथा राय सुझाव शंकलन गरी कमी कम्जोरीलाई सच्याउँदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउनु,

एक अर्का उद्यमी बिच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाईनमा सुधार ल्याउँने वातावरण तयार गर्नु,

अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गराउँदै उद्योगी ब्यवसायी बीच 'एकका लागि सबै र सबैका लागि एक' भन्ने भावना महसुस गराई दिगो हार्दिकता सिर्जना गर्नु,

उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलब्ध गराउने ब्यक्ति र उद्योगी, उद्योगी र उपभोत्ता, उद्योगी र ब्यापारी, नीतिनियम बनाउने सरकारी निकाय र त्यसलाई पालना गर्ने उद्यमी, राजनीतिज्ञ र उद्यमी, सञ्चार क्षेत्र र उद्यमी एकै साथ एकै ठाँउमा भेला भई एकअर्काका समस्या सुन्ने र सुनाउने अवसर प्रदान गर्ने साझा मञ्चको रुपमा स्थापित गराउनु,

१६औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीका विशेषताहरु

५.१) नेपालमा पहिलो पटक अन्तराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनि हुने ।
५. २) प्रथम पटक B to B sales हुने ।
५.३) विदेशी डिलर होलसेलरलाई प्रदर्शनी अवधिभर होटल सुविधासहित आमन्त्रण गरिएको जसको परिणाम स्वरुप नेपालि उत्पादनको विदेश निर्यातको सम्भावना रहेको ।
५.४) देश भरीबाट ४०,००० देखि ५०,००० उद्योगि, डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता जनाउने अपेक्षा गरिएको ।
५. ५) प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढि कम्पनिका स्टल रहने र नेपालि फुटवेयरका ९० कम्पनि सहभागि हुने ।
५.६) ३०० भन्दा धेरै सरकारी, गैरसरकारी, व्यावसायीक संघसस्थाहरु, विदेश स्थित कुटनैतिक नियोग र राज्यका नितिनिर्माण तहका संस्था तथा व्यक्तित्वहरुलाई प्रदर्शनी अवलोकन गराउने उद्देश्य राखिएको ।
५.७) यो प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामाग्री उत्पादन विधि कच्चा पदार्थको गुणस्तरको पनि जानकारी गराईने ।
५.८) एउटै छानामुनि देशभरीका उद्योगि हुने हुदाँ पछिल्लो नया डिजाइन, विकास र प्रतिस्पर्धि मुल्य छानेर कारोवार गर्नको लागि सहजता हुने ।
५.९ विश्वमा ख्याति कमाएका बहु राष्ट्र कम्पनिहरुले यो प्रदर्शनीमा भाग लिने हुदाँ नेपालि उद्यमिले आफ्नो उत्पादनलाई प्रतिस्पधी मुल्यमा गुणस्तरीय कच्चापदार्थ, मेशिनरी र प्रवृधिको पहुच सहज हुन गइ गुणस्तरीय उत्पादन गर्न सहज हुने ।
५.१०) प्रदर्शनीमा नेपालका ठुला उत्पादक देखि साना घरेलु उद्योगहरुलाई समावेश गरीएको स्टलको मुल्य तिर्न असर्मथ उद्योगहरुलाई केहि संख्यामा निशुल्क राख्ने व्यवस्था मिलाईएको ।

१६औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा प्रदर्शनमा राखिने बस्तुका थोक तथा खुद्रा विक्रेता, उत्पादन कर्ता तथा निर्यातकर्ता, गैरसरकारी निकाय, कच्चा पदार्थका उत्पादक तथा आपूर्तिकर्ता, स्कुल क्याम्पसका बिद्यार्थीहरु तथा शिक्षक शिक्षिकाहरु, एवं प्राध्यापकहरु अवलाेकनका लागि आउने अनुमान गरिएकाे छ । 

१६ औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीको मुख्य लक्ष्य हाल नेपालमा विक्रि हुने फुटवेयर जन्य सामान करीव ५०% रहेकोमा यसलाई ७५% पुऱ्याउनु रहेकाे छ । त्यस्तै, नेपाली फुटवेयर उद्योगमा लाग्ने कच्चा पदार्थको हिस्सा करीब ४०% रहेको र यसलाई ६०% मा पुराउने लक्ष्य रहेकाे आयाेजककाे भनाइ छ । 

त्यस्तै, अन्य लक्ष्यमा कच्चा पदार्थ, मेशिनरी र प्रविधिमा वैदेशिक लगानी भित्राउने, हाल भइरहेको निर्यातलाई दोव्बर बनाउनेलगायत छन् ।

०७९ पौष २१ देखि सुरू हुने यो अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी ०७९ पौष २३ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा सञ्चालन हुनेछ ।

आयाेजकका तर्फबाट फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवं मेला संयोजक सुरज बन्जाडेले १६औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीलाई सफल रुपमा सम्पन्न गर्न राज्यको पत्रकार, सम्पूर्ण सरोकारका क्षेत्रकाे सहयोग र प्रेरणा प्राप्त हुने आशा व्यक्त गरेका छन् । 

  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १७:७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया