सोमबार मधेस प्रदेशसभाको पहिलो बैठक बस्दै, सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरिने

मधेस प्रदेशसभाको पहिलो अधिवेशन सोमबारका लागि बोलाइएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथग्रहण पछि प्रदेशसभाको पहिलो बैठक बस्न लागेको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सोमबार दिउँसो १ बजेका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकबाट प्रदेशसभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भई आए अनुरुप संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख मिश्रबाट प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले बताए । 

सोमबारको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र प्रदेशसभा सदस्यहरुलाई पढेर सुनाउने पहिलो कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । 

यसका साथै नयाँ प्रदेशसभा नियमावली नबनेसम्मका लागि पुरानै नियमावलीलाई अनुमोदन गर्ने कार्यसूची रहेको उनले बताए । उनका अनुसार प्रदेशसभाको बैठकमा सभामुखको चुनाव नभएसम्मका लागि अध्यक्ष मण्डल चयन गरिनेछ । प्रत्येक दलको प्रतिनिधित्व हुने गरी अध्यक्ष मण्डल बनाइने उनले बताए । 

त्यस्तै प्रत्येक दलबाट संसदीय दलको नेता वा प्रतिनिधिले शुभकामना मन्तव्य राख्ने कार्यसूचि रहेको छ । सोमबारकै बैठकबाट सभामुख र उपसभामुख चयनका लागि मनोनयन दर्ताको मिति तोकिने कार्यसूची रहेको सचिव यादवले बताए । 



मधेस प्रदेशमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गरिने बताइएको छ । 

प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने कानुनी प्रावधान छ । 



मधेस प्रदेशसभाले नयाँ सभामुख नपाएसम्म सप्तरी–४ ‘क’ बाट निर्वाचित ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।

  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १८:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया