नेपाल टी-२० लिगमा ‘फिक्सिङ’ का क्रियाकलाप देखेँ : कमेन्टेटर तिमल्सिना
फरकधार / १९ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्
तस्बिर : सचिन तिमल्सिना फेसबुक

क्रिकेट ​कमेन्टेटर सचिन तिमल्सिनाले पहिलो संस्करणको नेपाल टी–२० लिगमा विभिन्न शङ्कास्पद गतिविधि भइरहेको बताएका छन् । आज बिहान एक भिडियोमार्फत उनले नेपाल टी–२० लिगमा ‘फिक्सिङ’ भइरहेको बताएका हुन् । 



तिमल्सिनाले क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर ‘फिक्सिङ’ गराउने क्रियाकलाप भइरहेको आफूले देखेको दाबी गरेका छन् । ‘क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने खालका क्रियाकलापहरू मैले देखेँ । आजकल म्याच फिक्सिङ हुँदैन, आजकल स्पट फिक्सिङ हुन्छ । त्यो भनेको रिजल्टमा त्यसले असर गर्दैन । तर, खेलको दौरानमा त्यस्तो काम हुन्छ जुन पहिले नै गर्न भनिएको हुन्छ,’ तिमल्सिनाले भिडियोमा भनेका छन् ।  



प्रतियोगिता सुरु भएदेखि नै उनी नजिकबाट लिगलाई नियालिरहेका छन् । लिगको २० खेल सकिँदा विभिन्न शङ्कास्पद गतिविधि देखिएपछि आफू कमेन्टेटरको भूमिकाबाट पनि अलग भएको तिमल्सिनाले बताएका छन् ।   



‘नेपाल टी–२० लाई कमेन्टेटरको रूपमा नजिकबाट नियाल्दा धेरै शङ्कास्पद गतिविधि भेटियो । अब त आयोजक पनि गायब भएछन् । आजबाट यो लिगमा ब्रोडकास्टर या कमेन्टेटरको रूपमा मेरो कुनै संलग्नता रहने छैन,’ सचिनले फेसबुकमा भनेका छन् । 



आज पहिलो खेलमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सले प्रतिस्पर्धा गर्ने तालिका थियो । तर, अहिलेसम्म यी दुई टिमबीचको खेलमा टससमेत हुन सकेको छैन । आयोजक सम्पर्कविहीन भएपछि लिगको बाँकी खेल नहुने सम्भावना बढेको छ ।



नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै २८ मंसिरदेखि लिग सुरु गरेको थियो । तर, लिगको २० खेल सकिँदासम्म सेभेन थ्री स्पोर्टसका संस्थापक जतिन आहलुवालिया क्यानको सम्पर्कमा नआएको बुझिएको छ । 

थ्री स्पोर्टसका संस्थापक सम्पर्कमा नआउँदा लिगको बाँकी खेल हुने/नहुने अन्योल थपिएको छ । क्यानले अहिलेसम्म यस विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । 



  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १०:३२:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया