धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धनुखधारी दासको हत्या उनकै छोरा र ज्वाइँको याेजनामा भएकाे पाइएको छ । ५० वर्षीय मोटर मिस्त्री दासको गत पुस ९ गते शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।
दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनका जेठा छोरा र ज्वाइँसहित ३ जनालाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
दासको हत्यामा संलग्न रहेको आरोपमा दासका छोरा २१ वर्षीय प्रदीप दास, महोत्तरीको पिपरा गाँउपालिका वडा नम्बर–५ सहोडवा बस्ने प्रहरी प्रधान कार्यालय सवारी महाशाखा प्राविधिक नक्शालमा दरबन्दी भई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा प्रहरी हवल्दार पदमा कार्यरत ३४ वर्षीय ज्वाइँ उदय दास र नगराइन नगरपालिका–२ जटहीका सुटर २१ वर्षीय रञ्जित यादवलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।
तीनैजनालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरु अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँँ मिलेर उनको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए ।
छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसँग डिल गरेर हत्या गराउन लगाएको कुरा अनुसन्धानको क्रममा खुलेको उनले जानकारी दिए ।
यसरी बुनिएको थियो दासको हत्याको योजना
गत पुस ९ गते साँझ करिब सवा ७ बजे धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–२ बस्ने ५० वर्षीय धनुखधारी दासलाई आफ्नै घरको बराम्दामा बिग्रीएको दमकल बनाइरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा सवार भई आएका दुईजना अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी सख्त घाइते बनाएर फरार भएका थिए ।
घाइते दासलाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याउँदा मृत्यु भएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट घटनास्थलमा खटेको अनुसन्धान टोलीले घटनाको बारेमा बुझ्दा मृतक धनुखधारी दासको दुईवटा विवाह भएको तथा छोराछोरीसँग समेत राम्रो सम्बन्ध नरहेको तथ्य खुलेको थियो ।
दासका जेठो छोरा प्रदिप दासले प्रयोग गर्ने मोटरसाइकल सो घटनामा प्रयोग भएको कुरा प्रहरीले पत्ता लगायो ।
दासका छोरा प्रदीप दासले प्रयोग गर्ने भनिएको मोटरसाइकल तथा घटनामा संलग्न रहेको व्यक्तिहरुको बारेमा अनुसन्धान गर्ने क्रममा प्राविधिक विश्लेषनको सहयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरि उनीहरूलाई खोजतलाश गर्ने क्रममा पुस १९ गते दिउँसो ३ बजेको समयमा धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ जटही बस्ने २१ वर्षीय रञ्जित कुमार यादवलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ स्थित सिक्सलेन बाटोमा जटही–जनकपुर चल्ने बसबाट नियन्त्रणमा लिइयो ।
धनुखधारी दासको हत्या गर्नका लागि उनका जेठा छोरा प्रदिप दासले २/३ महिनाअगाडि नै रञ्जितसँग सम्पर्क गरी बुवाको हत्या गर्न भन्दै आएको र उनको हत्या गरेबापत पाँच लाख रुपैयाँ दिने सहमति भएको थियो । घटना हुनु भन्दा करिव एक महिना अगाडि रञ्जितलाई एकलाख रुपैयाँ एडभान्ससमेत दिइएको थियो ।
रञ्जितले पेस्तोल १ नाल, सोमा लाग्ने गोली २ राउण्ड, अटोमेटिक पेस्तोल १ नाल, सोको म्याजीन २ थान, भारतबाट कटुवा पेस्तोल र सोको गोली ८ राउण्डसमेत लिई कोठामा राखेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।