गठबन्धन तोडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको समर्थनमा प्रधानमन्त्री बन्न गएपछि नेपाली कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ।
राप्रपाले वर्तमान सरकारबाट समर्थन गरिसकेको छ । बाहिरबाट समर्थन गरे पनि राप्रपा सरकारमा सहभागी भइसकेको भने छैन । राप्रपालाई सरकारबाट बाहिर निकाल्नसके दाहाल नेतृत्वको सरकार ढल्ने विश्लेषणसहित कांग्रेस सभापति शेरबहादुर देउवाले लिङ्देनलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका हुन्।
प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको सरकारलाई अघि बढ्न नदिन कांग्रेसले राप्रपालाई प्रधानमन्त्री प्रस्ताव गरेको हो।
वर्तमन सरकारलाई तीन स्वतन्त्रसहित १६९ सांसदको समर्थन छ । १४ सांसद रहेको राप्रपाले समर्थन फिर्ता लिएमा रास्वपा र अन्य साना दलले पनि सरकार छाड्ने र एकीकृत समाजवादी र जसपालाई पनि आफ्नै कित्ता उभ्याउन सकिने कांग्रेसको विश्लेषण छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तीमा १३८ मत चाहिन्छ। पुस २६ गते संसदमा दाहालको विपक्षमा १४१ जना सांसद पुर्याउने मिसनसाथ कांग्रेस अघि बढेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।