logo-img

जिल्ला प्रशासन कार्यालय चितवनमा ‘टाइम कार्ड’ लागू

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । टाइम कार्ड लागू भएपछि सेवाग्राहीलाई तोकिएको समय सीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो ।

कर्मचारीहरूलाई सेवाप्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाइम कार्ड’ को व्यवस्था गर्न लागिएको हो । उनका अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गर्ने तयारी गरिएको छ ।

अहिले कार्यालयमा भीड बढी हुने गरेको उनले बताए । सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा हेल्प डेस्क राखिनेछ । यहाँबाट आवश्यक कागजपत्र पूरा भएरनभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने उनले बताए । कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ । यसबाट कार्यालयमा अनावश्यक भीड नियन्त्रण हुने उनको भनाइ छ ।

राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३०, राहदानीमा प्रतिघण्टा २० र  नागरिकता एवं प्रतिलिपि सेवाग्राहीको कागज पत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिन लागिएको हो । सेवा लिन आएका सेवाग्राहीहरूलाई तोकिएको समयमा सेवा दिइनेछ ।

अहिले कार्यालयबाट दैनिक रूपमा राष्ट्रिय परिचयपत्र १ सय ९०, नागरिकता १ सय ५० र राहदानी १ सय ३० जनाले सेवा लिने गरेका छन् । नागरिकता नयाँ बनाउने ८० र प्रतिलिपि लिने ७० जना हुने गरेको उनले बताए ।   





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १८:४०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया