\
जयपृथ्वी नगरपालिका ११ का वडाध्यक्षलाई धम्की आएको छ । जयपृथ्वी नगरपालिका ११ का वडाध्यक्ष सर्जन थापालाई महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जयन्ती जोशीले फोनमा धम्की दिएकी हुन् । उनले वडाध्यक्ष थापालाई गालामा हान्ने धम्की दिएको वडाध्यक्ष थापाले बताए ।
जयपृथ्वी नगरपालिकाबाट आर्थिक वर्ष ०७९–८० मा महिला हिंसा न्यूनीकरणका लागि विनियोजन भएको बजेटमार्फत महिला अधिकार मञ्चले विभिन्न कार्यक्रम गर्ने जिम्मा पाएको थियो ।
सोही कार्यक्रम अन्तर्गत रहेर जयपृथ्वी नगरपालिका वडा नं ११ मा कार्यक्रम गर्दा वडाका जनप्रतिनिधिलाई कुनै जानकारी नगराएको र कार्यक्रमको बारेमा जानकारी लिन खोज्दा आफूमाथि धम्की आएको वडाध्यक्ष थापाले बताए ।
‘वडाका जनप्रतिनिधिलाई जानकारी नगराई कार्यक्रम सञ्चालन गरेको थाहा पाएपछि मैले जोशीलाई फोन गरेर कार्यक्रमको बारेमा जानकारी लिन खोजेको र उल्टै तिमीलाई के चाहियो भनेर मलाई जवाफ फर्काइन्,’ थापाले भने, ‘आफ्नो जानकारीविना नै वडामा कार्यक्रम गरिएको र सोको भुक्तानी नगर्न नगरपालिकामा भनेका कारण नगरपालिकाले भुक्तानी नदिँदा जोशीले मलाई गालामा हान्ने धम्की दिएकी छिन् ।’
नगरपालिकाको बजेटबाट कार्यक्रम गर्दा वडाका जनप्रतिनिधिसँग समन्वय गर्नुपर्ने भन्दै थापाले भने ‘उल्टै फोन गरेर नगरपालिकाबाट आफूले बजेट हाल्न लगाएको र तिमीले बजेट दिएको हो र ? भनेर थर्काएकी छिन् ।’
जोशी अध्यक्ष रहेको महिला अधिकार मञ्चले जयपृथ्वी नगरपालिकाबाट विनियोजित २ लाख बजेटले जयपृथ्वी नगरपालिका वडा नं ११ मा महिला हिंसा न्यूनीकरणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।
सो कार्यक्रमको बारेमा आफूहरुलाई पनि कुनै जानकारी नगराएको भन्दै वडा नं ११ का स्थानीय महिलाहरुले गुनासो गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।