सरकारको एक वर्ष : राजनीतिज्ञकाे समीक्षा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वर्ष दिन पूरा गरेको छ । २०७४ साल फागुन ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारपछि ओलीले सत्ता सम्हालेका हुन् । ओली सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रमुख प्रतिपक्षी, साना दलका नेता तथा सत्ता पक्षकाहरूले फरक–फरक टिप्पणी गरेका छन् । कम्युनिस्ट नेताले नै ओली सरकारको सकारात्मकभन्दा नकारात्मक टिप्पणी गरेका छन् । प्रस्तुत छ, केही नेताका टिप्पणी : 

ओली सरकारले एकवर्षे कार्यकालमा ‘पासमार्क’ पनि ल्याएन  

चित्रबहादुर केसी , राष्ट्रिय जनमोर्चा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एकवर्षे कार्यकाललाई पास मार्क दिन सकिनँ । यो एक वर्षको अवधिमा सरकारले धेरै ठूला–ठूला विकासका काम गर्न सकेन । सानातिना भ्रष्टाचारीलाई पक्राउ गरेको भए पनि ठूला तस्कर र भ्रष्टाचारीलाई पक्राउ गर्न सकेन । साना भ्रष्टाचारी र भरिया पक्रिएर केही हुँदैन । छुपे रुस्तम कुनामा अहिले पनि ठूला–ठूला माछा र तस्कर सुरक्षित छन् ।

गणतन्त्र र धर्मनिरपेक्षता आउनु राम्रो भए पनि संघीयताले नेपाली जनतामाथि पीडा थपिदिएको छ । संघीय व्यवस्थाअनुसार तीन तहको सरकार बने पनि यिनीहरूको पहिलो र मुख्य काम भनेको आफ्नो सेवा–सुविधा लिने मात्रै देखिएकाले यसले पनि नेपालीमा झन्झन् पीडा थपिएको छ । 



ओली सरकारको एक वर्षे कार्यकाललाई शून्य अंक दिन्छु  



सिपी मैनालीमहासचिव  नेकपा (माले) एवम् पूर्वउपप्रधानमन्त्री

वर्तमान सरकार दुईतिहाइको सरकार हो, तर यो परम्रागत ढंगबाट नै चल्यो । यसले आफ्नो कम्युनिस्ट चरित्रअनुसार काम गर्न सकेन । त्यसैले शून्य अंक पाउनुपर्ने हो । सरकारले राम्रो योजनाअनुसार काम गर्न सकेन । यो सरकार पनि विगतकै जस्तो निरन्तरता भयो । अहिले यो यथास्थितिमा छ । उत्पादनमा ह्रास भएको छ । भ्रष्टाचार छरिएका छन् । अहिले भ्रष्टाचारको इपिसेन्टर स्थानीय निकायमा सरेको छ ।

यो एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरी चलाउँदा देशको हालत झन् के होला ? 

सिपी गजुरेल , वरिष्ठ नेता नेकपा (क्रान्तिकारी माओवादी) 

यो सरकारले महँगी बढाउने काम गर्यो । यही सरकारको पालामा तस्करी उजागर भयो । साँढे ३३ केजी सुन जफत भयो, तर त्यो सुन कहाँ छ भन्ने कुरा अहिलेसम्म थाहा छैन । अहिलेसम्म यसबारे जनतालाई कुनै सूचना छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण मात्रै नभएर माफियाकरण भएको छ । जनतासँग प्रत्यक्ष जोडिएको विषयमा यस्तो हालत छ ।

सरकारले एक वर्षमा ‘डिस्टिंक्सन’ प्राप्त गरेको छ 

आनन्दप्रसाद पोखरेल,नेकपा नेता एवं पूर्वमन्त्री

सरकारको एकवर्षे कार्यकालको मूल्यांकन गर्दा सरकार अलोकप्रिय भएको भए अरू दलको समर्थन यतिवेलासम्म फिर्ता भइसक्थ्यो । अहिलेसम्म समर्थन जारी छ । त्यसैले सरकार अहिले पनि सही ट्र्याकमा छ । कांग्रेसले बजेट ल्याउँदा समर्थन गरेकै हो । बजेट सर्वस्वीकृत भएको हो । सुन तस्करीदेखि लिएर अन्य तस्करहरूलाई समेत सरकारले नियन्त्रणमा लिएको र कानुनी कारबाही गरेको छ । कतिपयलाई त जेल हालेको छ । तस्करी नियन्त्रण गर्न सरकारले काम गरेको छ ।

  • प्रकाशित मिति : फागुन ३, २०७५ शुक्रबार १९:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया