नारायणगढ मुग्लिन सडकमा धमाधम पुल निर्माण

भरतपुर– नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ ।  

‘समग्रमा पुल निर्माणको काम ५० प्रतिशत सकिएको छ’, खनालले भने, ‘जलवीरेमा भने निर्माण प्रगति ३४ प्रतिशत र अन्य पुलको ७० प्रतिशत माथि छ  ।’  जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको हो । अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । जलवीरे पुल ८० मिटर लामो छ । मौरीपुल ३०, खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ तथा चौडाइ भने सबैको ११ मिटर हुनेछ । 

‘लामा कन्स्ट्रक्सनले जिम्मा पाएको चार पुल निर्माणको काम वैशाखभित्रै सम्पन्न हुन्छ भने रौताहा कन्स्ट्रक्सनले जिम्मा लिएको जलवीरे पुल निर्माणमा समय लाग्ने देखिएको उनले बताए । जलविरे पुलको डिजाइन परिवर्तन,अप्ठ्यारो ठाउँ र फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भइरहेको छ । हाल पुल भइरहेका ठाउँ नजिकैबाट नयाँ पुल निर्माण गरिएकाले सवारी आवागमनमा पुलले कुनै बाधा पुर्याएको छ । 

जलवीरे पुल रु १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड छ । सडकखण्डमा अझै १४ पुल निर्माणको काम भने अघि बढ्न सकेको छैन । १८ पुलमध्ये चार वटाको मात्र निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणको काम छिट्टै शुरु हुने आयोजना प्रमुख रोहित विसुरालले जानकारी दिए ।  

सात ठाउँमा भौगर्भिक अध्ययन 

नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न क्षेत्रमा भासिएको सडकको भौर्गर्भिक अध्ययन शुरु गरिएको छ । भासिएको र जोखिमपूर्ण गरी सात ठाउँमा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयका इञ्जिनीयर खनालले जानकारी दिए ।  सडक भासिएको खण्ड २६ किलोमिटरमा र १७ किलोमिटर क्षेत्रमा सर्वे भइरहेको छ । 



भासिएको सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ । टोलीले एक महीनाभित्र अध्ययनसहित डिजाइनको प्रतिवेदन दिनेछ । आयोजनाका प्रमुख विसुरालले प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्रै निर्माणको काम अघि बढ्ने बताए ।  



  • प्रकाशित मिति : फागुन ४, २०७५ शनिबार ८:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया