म्याद गुज्रेका औषधि बिक्री गर्दै प्रिन्सी फार्मेसी

धनुषाको जनकपुरधामस्थित एक औषधि पसलले म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएको छ । प्रादेशिक अस्पतालको गेटअगाडि सञ्चालित प्रिन्सी फार्मेसीले म्याद नाघेको औषधि बिक्री गरेको पाइएको हो ।

सोमबार बिहान आफ्नो छोराका लागि ‘इबास्ट’ नामक औषधि किन्न पुगेका स्थानीय सुजित मिश्रलाई सो पसलमा कार्यरत स्टाफले ६ महिनाअघि नै म्याद नाघिसकेको औषधि दिएका थिए । 

घर पुगेपछि सुजितको छोराले औषधिको म्याद गुज्रिसकेको हेरेपछि उनलाई सोबारे जानकारी गराए । सुजित फेरि साँझ करिब ७ बजे सोही औषधि किन्न प्रिन्सी फार्मेसी मै पुगे । तर, दोस्रोपटक पनि पसलेले उनलाई अर्को औषधि (इबास्ट) दिँदा त्यसको पनि म्याद नाघेकै पाइयो । औषधिका बट्टामा करिब एक दर्जन म्याद नाघेका औषधि पाइएको हो । 

यति भइसक्दासमेत औषधि पसल सञ्चालकले घटनालाई सामान्य भनिरहेका थिए । प्रहरी बोलाइएपछि उनीहरूले पनि घटनालाई ढाकछोप गर्ने प्रयास गरेको देखियो । जबकी औषधि ऐनअन्तर्गत दफा २३६ मा म्याद नाघेका वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुने स्पष्ट व्यवस्था छ । 

कसैले कुनै निश्चित समयावधिभित्र प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनुपर्नेमा त्यस्तो नलिइ बिक्रीवितरण गर्नु नहुने उल्लेख छ । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।



सुजितले खरिद गरेर घर लगिसकेपछि आफूलाई म्याद नाघेको औषधि बिक्री गरेको पत्तो पाएको बताए । तर, फेरि त्यही औषधि किन्न सोही पसलमा आउँदा दोस्रोपटक पनि म्याद गुज्रेकै औषधि आफूलाई दिइएको उनले सुनाए । 

प्रिन्सी फार्मेसीले सो औषधि सोमबार दुईपटक मिश्रलाई बिक्री गर्‍यो । जसको म्याद सन् २०२२ जुन महिनामा सकिसकेको छ । पहिलो पटकमा म्याद गुज्रेको औषधि दिएको र दोस्रोपटक पनि किन्न जाँदा म्याद गुज्रेकै औषधि दिँदासमेत मिश्रलाई मेडिकल सञ्चालकले उल्टो उपभोक्ता दोषी भएको बताए । ‘औषधि हेरेर लैजानुपर्छ भन्ने कुरा उपभोक्ताले नि जान्नुपर्ने हो’, उनले भने ।



यस्ता प्रतिनिधि घटनाले जिल्ला प्रशासन कार्यालयको अनुगमन संयन्त्रले गर्ने निरीक्षण माथि नै प्रश्न उठेको छ । धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले औषधि पसलहरूले म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐनअनुसार शीघ्र कारबाहीको लागि पहल थालिने बताए ।

म्याद नाघेको औषधि घातक : चिकित्सक

कुनै पनि औषधिको म्याद गुज्रेको छ भने त्यसले कुनै असर नै नगर्ने हुँदा समस्या नियन्त्रणको साटो झन् बढिरहन सक्ने चिकित्सक बताउँछन् ।

‘जुन समस्या नियन्त्रणको लागि भनेर औषधि खाएको छ त्यसको म्याद नाघिसकेको छ भने त औषधिले असर नगरी झन् रगतमा ग्लुकोजको मात्रा बढिरहेको हुनसक्छ’, एक प्राध्यापक चिकित्सकले भने, ‘मानसिक रूपमा औषधि खाइरहेको छु भन्ने तर त्यसको असर शरीरमा नपर्दा रोग झनै बल्झिरहेको हुनसक्छ ।’

औषधि रासायनिक पदार्थ भएकोले निश्चित म्याद सकिएपछि औषधिको रसायनमा परिवर्तन भई विषालु पदार्थको रूप लिनसक्ने हुँदा त्यस्ता औषधि सेवन आफैंमा घातक भएको उनको भनाइ छ । 

  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार ११:४०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया