गण्डकीका नवनियुक्त मुख्यमन्त्री भन्छन्– प्रदेश त माइलो छोरो जस्तो भयो

गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तराष्ट्रिय उडान गर्न प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको भोलिपल्टै उनी काठमाडौं उडेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतासँग भेट गर्न उनी काठमाडौं गएका हुन् । 

त्यसअघि पोखराको १२औं नगरसभालाई सम्बोधन गर्दै अधिकारीले अन्तराष्ट्रिय उडानका लागि प्रधानमन्त्रीसँग कुरा राख्ने बताएका हुन् । ‘अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको अनुमति लिन पहल गर्छौं । कनेक्टिभिटीका लागि यो अत्यावश्यक छ’, उनले भने, ‘बडो उल्लासका साथ विमानस्थलको उद्घाटन गर्‍यौं । अब नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ ।’

पर्यटन, जलस्रोत र शिक्षालाई विकास गर्न प्रदेशले सुझाब चाहेको अधिकारीले बताए । संघ सरकारले तल्ला सरकारलाई अधिकार दिने कुरामा आनाकानी गरिरहेको उनको तर्क छ । ‘प्रदेश त माइलो छोरो भयो । कान्छो छोरो स्थानीय तह, जेठो छोरो माथि छँदै छ । पितृ उद्धार कार्य गर्दा माइलो छोरोलाई खासै ठूलो भार पारिँदैन,’ उनले भने, ‘त्यही मनोविज्ञान पनि हुन सक्छ । केन्द्रमा रहँदा केन्द्रकै कुरा ठूलो हुन्छ । अधिकार तल जाने कुरामा खासै उदार छैन ।’ 

उनले केही कानुन केन्द्रले नबनाएका कारण प्रदेश सञ्चालनमा समस्या भएको बताएका छन् । निजामती कर्मचारी ऐन नबनेका कारण प्रदेशमा कर्मचारी समायोजन हुन नसकेको उनले बताए ।

अधिकारीले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका लागि प्रदेश सरकार तत्पर रहेको र अनिवार्य ऐन निर्माणका लागि सुझाब मागेका छन् । शिक्षा र स्वास्थ्यको धेरै दायित्व स्थानीय तहसँग भएकोले जिम्मेवार भएर काम गर्न उनले आग्रह गरे । 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार २१:१०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया