जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले बुधबार मधेस प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । जसपाको प्रदेश संसदीय दलका नेता यादवले सरकारको नेतृत्वमा दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । तर, त्यसको एकदिन अगाडि नै यादवले नेकपा एमाले लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेका छन् ।
सत्तासाझेदार दलहरूको बैठकले मंगलबार बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रदेश प्रमुख मिश्रसमक्ष मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गरिएको जसपा संसदीय दलका नेता यादवले बताए ।
उनले सत्तासाझेदार दलहरुसहित ६३ जना सांसदको समर्थनमा दाबी पेश गरेका छन् । सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ जना र स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह र अनिरुद्ध सिंहसहित कुल ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
सत्तारुढ गठबन्धनको गत आइतबार बसेको बैठकले प्रदेश सरकार गठनको बाँडफाँट टुंग्याएको थियो । जसअनुसार मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने निर्णय गरिएको थियो । मधेस प्रदेशसभा सभामुख एमालेले पाउनेछ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना सांसदको समर्थन चाहिन्छ । मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुने बताइएको छ । प्रदेश प्रमुख मिश्रले पुस २८ गतेभित्र दुई वा सो भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका थिए । नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणका लागि तयारी समेत गरिदैंछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।