८ माघ, २०८२ बिहीबार
Jan. 22, 2026

६३ सांसदको समर्थनसहित सरोज यादवद्वारा मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश

जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले बुधबार मधेस प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । जसपाको प्रदेश संसदीय दलका नेता यादवले सरकारको नेतृत्वमा दाबी पेश गरेका हुन् । 

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । तर, त्यसको एकदिन अगाडि नै यादवले नेकपा एमाले लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेका छन् ।



सत्तासाझेदार दलहरूको बैठकले मंगलबार बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रदेश प्रमुख मिश्रसमक्ष मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गरिएको जसपा संसदीय दलका नेता यादवले बताए ।

उनले सत्तासाझेदार दलहरुसहित ६३ जना सांसदको समर्थनमा दाबी पेश गरेका छन् । सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ जना र स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह र अनिरुद्ध सिंहसहित कुल ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । 



सत्तारुढ गठबन्धनको गत आइतबार बसेको बैठकले प्रदेश सरकार गठनको बाँडफाँट टुंग्याएको थियो । जसअनुसार मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने निर्णय गरिएको थियो । मधेस प्रदेशसभा सभामुख एमालेले पाउनेछ ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना सांसदको समर्थन चाहिन्छ । मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुने बताइएको छ । प्रदेश प्रमुख मिश्रले पुस २८ गतेभित्र दुई वा सो भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका थिए । नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणका लागि तयारी समेत गरिदैंछ ।
 



  • प्रकाशित मिति : २७ पुस, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया