के ट्रम्पले संकटकाल घोषणा गर्दा मेक्सिकोसँगको सीमा पर्खाल सजिलै बन्छ ?

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँग जोडिएको देशको सीमामा पर्खाल बनाउन अमेरिकामा संकटकाल घोषणा गरेका छन् । ट्रम्पको खास चाहनाचाहिँ त्यहाँको संसद्ले जतिसक्दो छिटो सीमा बनाउन लागि आवश्यक बजेट पारित गरोस् भन्ने हो । 

शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा लागूपदार्थको तस्करी, मानव तस्करी तथा अपराधीहरूको खतरा बढिरहेको र यसलाई न्यूनीकरण गर्न मेक्सिको सीमामा पर्खाल लगाउनैपर्ने बताएका थिए । 

अर्कोतिर, राष्ट्रपति ट्रम्पको यो घोषणाबारे छानबिन गर्न आदेश दिइएको छ । त्यहाँको न्यायिक समितिले राष्ट्रपति ट्रम्पको यो घोषणा संवैधानिक जिम्मेवारीबाट लापरबाही भएको बताएको छ । 

विपक्षी दल डेमोक्रेटिक पार्टीले यो घोषणालाई शक्तिको दुरुपयोगको संज्ञा दिएको छ र यो फैसलाविरुद्ध अदालतमा जाने बताएको छ ।

ट्रम्पले सरकारी खर्चसँग जोडिएको बजेटमा हस्ताक्षर गर्नुपर्ने थियो । तर, उनले यो हस्ताक्षर नगरेकाले फेरि अमेरिकामा कामबन्दीको समस्या हुने भएको छ । ट्रम्पले यी सबै फैसला र घोषणालाई लिएर डेमोक्रेट्स अदालतमा जाने आफूलाई पहिले नै थाहा भएको तर अमेरिकी अदालतले पनि सुरक्षासँग चिन्ता राख्नेमा आफू निश्चिन्त भएको जनाएका छन् ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै अब संकटकाल घोषणा गरेपछि उनलाई सरकारी कोषबाट आठ बिलियन डलरसम्म मिल्ने र यसले सीमामा पर्खाल बनाउन सहज हुने बताएका छन् । 



सीमामा पर्खाल बनाउन ट्रम्पलाई किन पनि बाध्यता छ भने उनले निर्वाचनमा नै यही अजेन्डा उठाएका थिए । तर, डेमोक्रेट सांसद यसको विरोध गरिरहेका छन् । उनीहरूले सीमामा पर्खाल बनाउन सरकारी धन प्रयोग गर्नुलाई गलत हुने बताइरहेका छन् । 

यसअघि पनि डिसेम्बरमा अमेरिकी संसद चलिरहँदा ट्रम्पले पर्खाल बनाउन बजेट पारित नभएसम्म बजेटमा हस्ताक्षर नगर्ने अडान लिएका कारण २२ डिसेम्बरबाट अमेरिकामा कामबन्दी सुरु भएको थियो । यो अमेरिकी इतिहासकै सबैभन्दा लामो कामबन्दी थियो ।



ट्रम्पको यो घोषणाले मेक्सिकोको सीमामा पर्खाल बन्ने या नबन्ने निक्र्योल गर्नेछ । तर, डेमोक्रेट पार्टी अदालत गएको खण्डमा अदालतले ट्रम्पलाई साथ दिनेमा आशंका गर्न सकिन्छ । अदालतले ट्रम्पको विरोधमा फैसला सुनाएमा अहिले तत्काल मेक्सिकोको सीमामा पर्खाल नबन्ने निश्चितप्रायः हुनेछ ।
 

  • प्रकाशित मिति : फागुन ४, २०७५ शनिबार १३:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया