डा. पाेखरेलले ल्याए १८ पुराणको नेपालीमा सारांश

वेद व्यासले संस्कृत भाषामा रचना गरेको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर ०७१ सालमा सेवा निवृत्त भएका डा.बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेखेका हुन् । 

शिव पुराणको भने अध्यायगत अंग्रेजी सारांशसमेत उनले प्रकाशन गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालय, संस्कृत अध्ययन संस्थानबाट ०४३ सालमा सर्वदर्शनमा आचार्य (स्नातकोत्तर) गरेका पोखरेलले यसको प्रयोग जीवनको लामो समयसम्म गर्न पाएका थिएनन् । त्रिभुवन विश्वविद्यालयबाटै अर्थशास्त्रमा पनि स्नातकोत्तर गरेका उनले लामो समय अर्थ मन्त्रालयमा काम गरे ।

पिताजी र दाजुको प्रेरणामा तीनधारा पाठशालामा बसेर वाल्मीकि विद्यापीठमा संस्कृत अध्ययन गरेका पोखरेलले जागिरे जीवनमा यसको उपयोग गर्न पाएका थिएनन् । संस्कृत अध्ययन गरेका छोरालाई आमाले बेला–बेलामा घरमा पुराण सुनाउ भन्ने गरेका थिए । जागिरे जीवनमा त्यो अवसर नपाएपछि सेवा निवृत्त भएर उनले आमालाई एकादशी माहात्म्य र केही पुराण सुनाउन थाले ।

आमालाई पुराण सुनाउने क्रममा पोखरेललाई लेखेर सबैले पढ्न सक्ने गरी किन प्रकाशन नगर्ने ? भन्ने सोच पलायो । आमालाई पुराण सुनाउँदा फुरेको योजनाले १८ पुराणको नेपाली अध्यायगत सारांश लेखेर प्रकाशन गर्ने उत्प्रेरणा जगाएको उनले बताए । 

चारवटा पुराण सुनाउँदैमा ०७२ मा पोखरेलकी आमाको निधन भएपछि पुराण अब अरुलाई बताउँछु भनेर उनले संकल्प गरे । यही संकल्पले १८ पुराणको नेपाली भाषामा अध्यायगत सारांश सार्वजनिक भएको छ ।

संस्कृतसँगै अर्थशास्त्रको पनि अध्ययन गरेर जीवनभर आर्थिक क्षेत्रमै काम गरेका पोखरेललाई आधुनिक अर्थशास्त्रका पिता मानिने एड्मस्मिथको ‘संसारमा समस्या भयावह छ, यसको समाधान कहिल्यै हुँदैन’ र माल्थसको ‘जनसंख्या दोब्बरले बढ्छ तर खाद्यान्न क्रमिक रुपमा मात्र बढ्छ’ भन्ने आशयले आधुनिक ज्ञानले दीर्घकालीन समाधान नदिने रहेछ भन्ने परेको थियो । त्यही बेलादेखि उनी पूर्वीय दर्शनमा डुब्ने चाहना राखेका थिए ।  



अर्थशास्त्रको यही समस्या समाधानका लागि उनले पुराण गहिरिएर अध्ययन गर्न थाले । पुराण अध्ययन गरेर अध्यायगत सारांश तयार भयो । प्रकाशनका लागि पोखरेलाई सहज भयो । अध्यात्मप्रेमीले उनका १८ वटै पुराण प्रकाशन गरिदिए । 

पोखरेलले प्रकाशक भेटेको घटना पनि रोचक छ । पुराणको अनुवाद गरिरहेका बेला आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछाने उनको घरमा पुगे । लामिछानेले नै प्रकाशक संस्था विश्व स्वतन्त्र सञ्चारका उद्धवकुमार घिमिरेसँग परिचय गराए । 



अठार पुराणमध्ये धेरै घिमिरेले नै प्रकाशन गरिदिएका छन् । केही पुराणका लागि भने उनले अध्यात्मप्रेमी प्रकाशकको व्यवस्था गरिदिएका हुन् । १८ वटै पुराणलाई नेपालीमा अनुवादका लागि रु ६० लाखभन्दा बढी खर्च भएको छ । 

पहिलो संस्करणमा सबै पुराण एक/एक हजारप्रति प्रकाशन गरिएको छ । शिव, अग्नि, भागवत र मार्कण्डेय पुराण बजारमा सकिइसकेको जानकारी आएको उनले सुनाए । ती पुराणका दोस्रो संस्करणको तयारीमा प्रकाशन संस्था लागेको छ । 

अमेरिकामा रहेका नेपाली समुदायले १८ पुराणका अध्यायगत नेपाली सारांशको माग धेरै गरेका छन् । पोखरेल यसलाई संस्कृतमा भएको लचकता बताउँछन् । नारद पुराणमा गणितका धेरै कुरा पाइएको बताउँदै उनी यो अत्यन्त वैज्ञानिक रहेको सुनाउँछन् । नारद पुराणमा गीत, सङ्गीतका विषय पनि समावेश गरिएको छ । 

'संसारका धेरै विश्वविद्यालयले किन संस्कृत भाषा अध्यापन गराउन थाले भन्ने कुराको रहस्य मैले पुराण गहिरिएर पढेपछि नै थाहा पाएको हुँ,' पोखरेलले भने । 

सेवा निवृत्त भएपछि जयतु संस्कृतम् संस्थामा समेत आबद्ध भएर उनले संस्कृत क्षेत्र र पूर्वीय दर्शनका लागि काम गर्दै आएका छन् । हाल उनी जयतु संस्कृतम् संस्थाको अध्यक्ष छन् । पुराणको गहिरिएर अध्ययन गर्ने क्रममा पोखरेलले स्कन्द पुराणका केही खण्ड भारतबाट प्रकाशन भएको मूल ग्रन्थमा नभएको तथ्य थाहा पाए । 

सोही पुराणको हिमवत्खण्ड जहाँ नेपालका धेरै तीर्थस्थलको चर्चा छ । हिमवत्खण्ड योगी नरहरिनाथले प्रकाशन गरेका हुन् । मानसखण्ड नेपालका पश्चिमी भूभागका साथै भारतको कुमाउ, गढवाल लगायतक्षेत्रका तीर्थस्थलको वर्णन छ । मानसखण्ड पूर्वसचिव विष्णुप्रसाद खत्रीको नेतृत्वमा रहेको रामप्रसाद स्मृति संस्थाले प्रकाशन गरेको छ ।

यसैगरी राम जन्मभूमिको चर्चा भएको सरयुखण्ड पनि भारतले प्रकाशन गरेको मूल स्कन्द पुराणको ग्रन्थमा उल्लेख गरिएको छैन । स्कन्द पुराणका अन्य तीन खण्ड पनि रहेको भन्ने चर्चा सुनेकाले त्यस विषयमा खोजी जारी राखेको पोखरेल बताउँछन् ।

  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १५:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया