९९ दिनपछि रिहा हुँदा सन्दीप लामिछानेले छानेको ड्रेस कोड पहेँलो, किन ?

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने बिहीबार उच्च अदालत पाटनले दिएको आदेशअनुसार कारागारबाट रिहा भएका छन् । उनले २० लाख रुपैयाँ धरौटी बुझाएर कारागारबाट रिहा भएका हुन् । 

नाबालिगमाथि बलात्कारको आरोपमा उनी ३ महिनाअघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

५ भदौमा गौशालस्थित एक होटलमा लगेर आफूमाथि सन्दीप लामिछानेले बारम्बार बलात्कार गरेको भन्दै एक नाबालिगले उनीविरुद्ध २१ भदौमा किटानी जाहेरी दिएकी थिइन् । त्यति बेला सन्दीप लामिछानेले क्यारेकियन लिग खेल्न जमैका पुगेका थिए । 

उनीविरुद्ध उजुरी परेपछि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भए पछि उनले क्यारेबियन लिग बीचमै छाडेका थिए । 

तर, एक महिनासम्म उनी नेपाली प्रहरीको सम्पर्कमा आएनन् । नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेपछि भने सन्दीप लामिछाने स्वयंले २० असोजमा आफू नेपाल फर्किने सामाजिक सन्जालमा लेखेका थिए ।

२० असोजमा उनी नेपाल आएलगत्तै प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।



त्यसपछि काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । यसको विरुद्ध उनी पाटन उच्च अदालत पुगेका थिए । पाटन उच्च अदालतमा न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले २० लाख धरौटीसहित विभिन्न सर्त राखेर सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । 

रिहा भए पनि सन्दीप लामिछानेले यस विषयमा सामाजिक सन्जालमा लेख्न पाउने छैनन्, उनले सन्चारमाध्यममा पनि यसबारे बोल्न पाउने छैनन् । त्यस्तै, सन्दीप लामिछानेलाई विदेश जानबाट पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । उनले काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि प्रहरीको अनुमति लिनु पर्ने आदेशमा उल्लेख गरिएको छ । कुनै पनि माध्यमबाट पीडितलाई भेट्न खोजेमा वा कुनै प्रभावमा राख्न खोजेमा पीडित परिवार, प्रहरी वा सरकारी वकिलको कार्यालयले प्रमाणसहित उनीविरुद्ध उजुरी दिनसक्ने र उनलाई तत्काल कारागार चलान गर्न सकिने सर्त सन्दीप लामिछानेलाई रिहा गर्न दिइएको आदेशमा उल्लेख गरिएको छ ।



सन्दीपका दाजु मोहन लामिछानेले शुक्रबार धरौटी रकम बुझाएपछि उनी प्रक्रिया पुर्याएर रिहा भएका हुन् । 

उनी रिहा हुनुअघि नै उनलाई अदालतले दिएका सर्तबारे जानकारी गराएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् । रिहा भएसँगै सन्दीपलाई फेरि नेपाली क्रिकेट टिममा समावेश गर्नेबारे क्रिकेट एशोसिएसन अफ नेपालले कानुनी परामर्शसमेत सुरु गरेको छ ।

शुक्रबार उनी रिहा हुँदा केन्द्रीय कारागारबाहिर उनका समर्थकले उनको समर्थनमा नारा लगाएका थिए ।

शुक्रबार उनी रिहा हुँदा उनले पहेँलो कपडाहरुलाई प्राथमिकता दिएका छन् । पहेँलो कपडा यसअघि सन्दीप लामिछानेले जमैकामा भएको क्यारेबियन लिग खेल्दा उनको टिमको जर्सीमा लगाउनु बाहेक खासै आफ्नो रोजाइमा पारेका थिएनन् । 

तर, शुक्रबार उनी कारागारबाट रिहा हुँदा हेडब्यान्डसमेत पहेँलो नै रोजेका छन् ।

आखिर सन्दीप लामिछानेले किन रोजे त पहेँलो कपडा ?

शुक्रबार सन्दीप जेलबाट रिहा हुँदा उनले हेडब्यान्ड पहेँलो रंगको नै प्रयोग गरेका छन् ।

उनको ज्याकेट पनि पहेँलो रंगको नै छ । र, उनले ज्याकेटभित्र लगाएकाे हुडी पनि पहेँलो रंगको नै देखिन्छ ।

विश्व चर्चित रंग विशेषज्ञ क्रिस ब्राजेलले बारम्बार आफ्ना अन्तर्वार्ताहरुमा पहेँला कपडालाई मानिसहरुले आफ्नो खुसी देखाउन प्रयोग गर्ने बताउँदै आएका छन् । यतिमात्र होइन, पहेँलो कपडा भनेको नयाँ सुरुवातको संज्ञा भएको र स्पष्टता भएको पनि उनले बताउने गरेका छन् ।

‘आफूलाई लो फिल भइरहेको समयमा पहेँलो कपडा लगाउँदा कन्फिडेन्स बढ्ने मात्र होइन, धेरै सहज पनि महसुस हुन्छ,’ ब्राजेलले भनेकी छिन्, ‘मानिसहरुलाई आफू आशावादी भएको, खुसी भएको र नयाँ सुरुवात भएको संकेत गर्न सहज हुन्छ ।’

विश्वका विभिन्न जेलहरुमा चाहिँ कम खतरा भएका कैदीहरुका लागि पहेँलो कपडा दिने गरिएको छ । तर, नेपालमा कपडाको रंगको विषयले कैदीहरुको अवस्थाबारे इंगित गर्ने विषयमा खासै गाम्भिर्यता देखिँदैन ।


  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार १४:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया