नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने बिहीबार उच्च अदालत पाटनले आदेश दिएपछि २० लाख धरौटी बुझाएर शुक्रबार रिहा भए ।
नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीप लामिछानेमाथि विभिन्न सर्त राख्दै उच्च अदालत पाटनले रिहाइका लागि आदेश दिएको थियो । उनी रिहाइ भए पछि शुक्रबार दिनभर सामाजिक सन्जाल तथा मिडियाहरुमा उनी छाए ।
उनका समर्थकले उनको रिहाइमा केन्द्रीय कारागारमा उनको समर्थनमा नारा लगाएका थिए ।
यसअघि २१ भदौमा सन्दीप लामिछानेमाथि एक नाबालिग किशोरीले आफूमाथि ५ भदौमा सन्दीपले बारम्बार बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसको एक महिना पछि २० असोजमा सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।
उनी पक्राउ भएसँगै नेपाली क्रिकेटरहरुले पनि उनको न्यायका लागि सामाजिक सन्जालमा विभिन्न स्टाटस लेखेका थिए ।
तर, शुक्रबार उनी रिहाइ भए पछि उनका समर्थकहरुले यसलाई खुलेर स्वागत गर्दा नेपाली क्रिकेटरहरु यो विषयमा मौन छन् । यसअघि शरद भेषवाकरलगायतले उनीमाथि न्याय हुनु पर्ने भन्दै सामाजिक सन्जालमा लेखेका थिए ।
तर, उनको रिहाइमा उनीहरु चुपचाप छन् ।
आफू रिहा भए पछि सन्दीप लामिछानेले आफू छिट्टै क्रिकेटमा फर्किने चाहिँ बताएका छन् । उनलाई अदालतले यो मुद्दाको विषयमा केही भन्न नपाउने सर्त राखेकाले उनले यस विषयमा चाहिँ रिहाइको दिनमा केही पनि बोलेनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।