१६ वर्षअघि यती एयरलाइन्सकै जहाज दुर्घटनामा श्रीमान दीपक पोखरेलको निधन भएपछि अन्जु खतिवडाले पाइलट नै पढ्ने निर्णय गरिन् । त्यसका लागि उनी अमेरिकासम्म पुगेकी थिइन् ।
उनका श्रीमानको मृत्यु जुम्लामा सन् २००६ मा भएको विमान दुर्घटनामा भएको थियो ।
आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सहपाइलट थिइन् अन्जु । उनलाई वरिष्ठ क्याप्टेन कमल केसीले गाइड गरिरहेका थिए ।
आजको विमान दुर्घटना नभएको भए प्रशिक्षणका रुपमा उनले गर्ने यो अन्तिम उडान हुने थियो । पाइलट बन्नका लागि उनले गरेको यो अन्तिम उडान नै उनको अन्तिम उडान हुन पुग्यो ।
क्याप्टेन बन्नका लागि नै उनले आजको यो उडान गरेकी थिइन् । आजका क्याप्टेन केसीसँग ३५ वर्ष लामो अनुभव थियो ।
यसअघि भद्रपुर, विराटनगर, धनगढीलगायतका ठूला जहाज उडान हुने विमानस्थलमा उनले सफल उडान गरिसकेकी थिइन् । क्याप्टेन हुनका लागि प्रशिक्षकसँग कम्तिमा एक सय घन्टा उडान भर्नु पर्ने नियमअनुसार आजका लागि अन्जुको अन्तिम प्रशिक्षण उडान थियो ।
तर, विडम्बना यती एयरलाइन्सको ९ एन एएनसी एटिआर ७२ विमान आज विहान पोखरा विमानस्थल नजिकै दुर्घटनामा पर्यो । योसँगै कप्तान बन्ने अन्जुको सपना पनि अन्त्य भयो ।
विमान दुर्घटनामा अहिलेसम्म ६८ जनाको शव भेटिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।
आज भएको दुर्घटनामा विमानमा विमानमा चालक दलका चार सहित ७२ जना सवार थिए । विमानमा एयरहोस्टेस सिर्जना होङ्चुन र ओसिन आलेमगर थिए भने ५३ जना नेपाली, १५ जना विदेशी सवार थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।