मधेसमा अघिल्लो सरकारको कामको समीक्षा गर्न उच्चस्तरीय समिति गठन

मधेस प्रदेश सरकारले अघिल्लो सरकारको कामको समीक्षा गर्न उच्चस्तरीय समिति गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव र मन्त्रीहरूको शपथ ग्रहणपछि शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णयलाई कार्यान्वयन गर्दै समिति गठन गरिएको हो । 

अघिल्लो प्रदेश सरकारले गत ५ वर्षमा गरेका कामको समीक्षा गर्ने निर्णय गर्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारले मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि खतिवडाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

प्रदेश सरकारले अघिल्लो सरकारले गत ५ वर्षमा गरेका कामको समीक्षासहित आगामी दिनमा सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धन गर्न उच्च स्तरीय समिति गठन गरेको बिनाविभागीय मन्त्री वसन्त कुशवाहाले जानकारी दिए । 

समितिका सदस्यहरुमा अर्थ मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका उप–सचिवलाई राखिएको उनले बताए । 

उच्चस्तरीय समितिले प्रदेश सरकार मातहतका संरचनामा सेवाप्रवाहमा देखिएको बेथिति, त्रुटी, समस्या पहिचान गरि त्यसको समाधान गर्न तथा सेवा र विकास निर्माणका कार्यलाई छिटोछरितो गर्नेगरी १५ दिन भित्र सुझाव पेस गर्न समितिलाई जिम्मेवारी दिइएको मन्त्री कुशवाहाले जानकारी दिए । 

शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मधेसमा शीतलहरको समय रहेकाले प्रत्येक पालिकालाई दाउरा वितरण गर्ने निर्णयसमेत गरिएको थियो । गरिब तथा विपन्न वर्गलाई जाडो छल्नका लागि १३६ वटै पालिकालाई दाउरा वितरण गर्ने निर्णय गरिएको थियो । 





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १५:८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया