सुदूरपश्चिममा आज तेस्रोपटक सभामुखका लागि मतदान हुँदै
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख पदको लागि निर्वाचन हुँदैछ । सत्ता साझेदार दलहरूबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखको लागि उम्मेदवार छन् । 

यसअघि दुईपटक सम्म भएको निर्वाचनमा कसैले पनि बहुमत पुर्याउन नसकेपछि आज तेस्रोपटक सभामुखको लागि मतदान हुन लागेको हो । सोमबार बोलिएको प्रदेश सभाको बैठक पोखरामा भएको विमान दुर्घटनाका कारण शोक बिदा परेपछि स्थगित भएको थियो ।

आज बिहान १० बजे बोलाइएको प्रदेश सभा बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यसूची छ । २८ गते सत्ता गठबन्धनकै एक सांसदको मत बदर हुँदा माओवादीका भण्डारी सभामुख हुनबाट रोकिएका थिए । त्यस्तै, ३० गते नागरिक उन्मुक्तिका ७ सांसद तटस्थ बसेपछि दोस्रोपटक भण्डारी र रावल दुवैले बहुमत पाउन सकेनन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बन्न २७ मत आवश्यक पर्छ । यहाँ सत्ता गठबन्धनमा रहेको माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिल्दा २९ मत हुन्छ । अघिल्लोपटक तटस्थ बसेको नागरिक उन्मुक्ति पार्टीले आज भने मत दिने जनाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले कसलाई मत दिने भन्नेबारे निर्णय नगरेको बताए पनि सोमबार केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले सत्ता गठबन्धनकै उम्मेदवारलाई मत दिन निर्देशन दिएकी थिइन् । 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार ६:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया