पोखरा विमान दुर्घटना : अझै फेला परेनन् दुईजना, आज पनि खोजी गरिँदै

आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेका दुईजना अझै फेला पर्न सकेका छैनन् । सम्पर्कविहीन रहेका उनीहरूको आज पनि खोजी जारी रहने कार्कीका जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जानकारी दिए । 

दुर्घटनामा परी सम्पर्कविहीन रहेका दुईजना यात्रु खोज्न दुर्घटनाको तेस्रो दिन आज पनि गोताखोरसहित चारवटा ड्रोनको प्रयोग गरिने एसपी केसीले बताए ।

सोमबार ड्रोन प्रयोग गरी दुईजनाको शव फेला परेको थियो । दुर्घटनाको पहिलो दिन आइतबार ६३ र दोस्रो दिन सोमबार सातजनाको शव फेला परेको थियो ।   

आइतबार बिहान साढे १० बजे काठकाडौंबाट पोखराका लागि उडान भरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा चार चालक दलका सदस्य र ६८ यात्रुसहित ७२ जना सवार थिए । 

अहिलेसम्म दुर्घटनाग्रस्त विमानमा रहेका ७० जनाको शव फेला परेको छ । फेला परेका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

शव सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ ।  





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार ७:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया