मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन् ।मुख्यमन्त्री यादवले कांग्रेसका प्रदेश अध्यक्ष एवम् संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिने तय भएको छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा भएको भेटमा मुख्यमन्त्री यादवले कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई पत्रमार्फत आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
मुख्यमन्त्री यादवले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । मुख्यमन्त्री यादवले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।मधेस प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन् ।
लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाएका हुन् । मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन् ।
यहाँ माओवादीका ९ सांसद भएपनि २ जनाको शपथ रोकिएको छ । मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् । मधेसमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।