प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक नसकिँदै एमाले अध्यक्ष केपी ओली बैठक बीचमै छाडेर बाहिरिएका छन् ।
पौने घन्टाजति बैठकमा बसेर ओली बाहिरिएका हुन् । ओली आफ्नो भनाइ राखेर बाहिरिएका हुन् ।
सभामुखको निर्वाचनसहितका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।
ओली बाहिरिए पनि बैठक जारी रहेको बालुवाटार स्रोतले बताएको छ ।
५ माघमा हुने सभामुखको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिने १० वटा दललाई छलफलका लागि बालुवाटारमा बोलाएका हुन् ।
साथै, प्रमुख प्रतिपक्षी कांग्रेसको पनि विश्वासको मत पाएपछि राष्ट्रपति र सभामुखको निर्वाचनको विषयमा सबै दलसँग छलफल गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले यो बैठक आह्वान गरेका हुन् ।
बैठकमा विश्वासको मत दिने कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका नेतालाई छलफलका निम्ति बोलाइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।