पोखरा जहाज दुर्घटना : २२ जनाको शव आफन्तलाई बुझाइयो, एकको अवस्था अझै अज्ञात

पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये अहिलेसम्म २२ जनाको शव परिवारलाई बुझाइएको छ । 

पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रजिअ शाहीले बताए । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । 

यसअघि मंगलबार नै ४८ जनाको शवलाई काठमाडौंस्थित शिक्षण अस्पताल पुर्याइएको थियो । पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौंमा परीक्षण हुनेछ । 

शव क्षतविक्षत भएका कारण पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीका अनुसार दुर्घटनामा बेपत्ता एकजनाको खोजीकार्य भइरहेको बताए ।

मंगलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।

‘सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लगाउने काम भइरहेको छ’, उनले भने । 



६८ यात्रुसहित चार चालकदलका सदस्य लिएर आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज सेती खोँचमा खसेको थियो ।    



  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार ९:४५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया