लेखकहरूकाे मूल्याङ्कन: सरकार गफमा सफल, काममा जिराे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष गुजारेको छ । दुईतिहाइ जनमतसहित सत्ता सम्हालेको सरकारसँग जनताले ठूलै अपेक्षा गरेका थिए । यसैबीच प्रधानमन्त्री ओलीले निरन्तर नयाँ योजना उद्घाटन गरेर देश विकास भइरहेको दाबी गरिरहेकै पनि छन् । यता, समाजका प्रबुद्ध लेखकहरूले भने ओली सरकारको एक वर्ष गफकै तालमा खेर गएको बताएका छन् ।

लेखक नारायण ढकालका अनुसार सरकारले गरिरहेका काम सबै गफका तालमा गरिएका हुन् । सरकारले कामभन्दा कुरा धेरै गरेको आँैल्याउँदै लेखक नारायण ढकालले भने, ‘सरकारले काम कम गफ बढी गरेको छ । गफको तालमा गरेको कुरा कसरी पत्याउनु ?’

सरकारले समृद्धिका ठूला कुरा गरेर व्यवहारमा स–साना कुरा पूरा गर्न नसकेको आरोप लगाउँछिन्, लेखक अर्चना थापा । निर्मला पन्त हत्या प्रकरणको सन्दर्भलाई जोड्दै उनी थप्छिन्, ‘गृहमन्त्री स्वयम्ले अपराधी निकट पुगेको अभिव्यक्ति दिएर अपराधी सार्वजनिक गर्न नसक्ने यो सरकारको बोली र वर्ष दिनलाई कसरी समीक्षा गर्ने ?’

दिनहुँ घटेका आपराधिक घटनामा कमी नहुनु र महिनौँ अपराधी पत्ता लगाउन सरकार असफल हुनुले दण्डहीनता मौलाएको संकेत गर्छिन्, लेखक थापा । सामाजिक सञ्जालमाथि सरकारले निगरानी बढाएको स्मरण गर्दै उनी उनले भनिन्, ‘राज्यको काम कारबाहीले जनतामाथि निरंकुशतावादी सोच लादिन्छन् कि वाक्स्वतन्त्रता खोसिन्छ कि भन्ने शंका उब्जिएको छ ।’ 

लेखक थापाकै धारणामा सहमत जनाउँदै कवि स्वप्निल स्मृति भन्छन्, ‘निर्मला प्रकरणदेखि सुनकाण्ड र भ्रष्टाचारसम्मका कुरा छन्, दण्डहीनता सामाजिक न्यायको दृष्टिकोणबाट हेर्दा सरकारको काम निराशाजनक छ ।’

दुईतिहाइ मत जुटाउन जनतालाई बाँडेको सपनामध्ये स–साना काम पनि पूरा गर्न नसकेको आरोप उनले लगाए । उनका अनुसार प्रत्यक्ष जनजीवनसँग जोडिएका विषयमा सरकारले कुनै उपलब्धि हासिल गर्न सकेको छैन । ठूला मानिएका योजना पनि पूरा हुन नसकेको देखाउँदै स्वप्निलले भने, ‘अरू त कुरा छाडौँ, मेलम्ची र फास्ट ट्र्याक पनि अलपत्र परेका छन् । यसमा सरकारकै दोष मान्ने त हो ।’ 



वर्तमान सरकार र सरकारले गरेका कामका विषयमा फरक मत राख्छन्, लेखक अभि सुवेदी । सुवेदीका अनुसार वर्तमान सरकारको एक वर्षे कार्यकाल सिक्न र अनुभव बटुल्न नै खर्च भएको छ । सिकाइका क्रममा सरकार अलमलिएको बताउँदै सुवेदीले भने, ‘दुईथरी विचार राख्ने कम्युनिस्ट पार्टी मिलेको छ, यो सरकारका लागि अप्ठ्यारो समय थियो ।’

यद्यपि, दुवै समूह मिल्दा देखिनुपर्ने उत्साह र परिवर्तन भने चित्तबुझ्दो नभएको सुवेदी स्वीकार गर्छन् । ‘दुवै समूहले ठूलो क्रान्ति गरेर सत्तामा आएको हो, सुवेदीले भने, ‘परिवर्तनका लागि जुन साहस देखाएको थियो, त्यो किसिमको उत्साह अहिले काम गर्दा देखिएको छैन ।’ 



दुईतिहाइ छ भनेर दम्भ नदेखाई काम गर्ने हो भने यो सरकारले जुनसुकै काम गर्न सक्ने सुवेदी दाबी गर्छन् । आगामी दिनमा सरकारका लागि मुख्य चुनौती रहेको भन्दै सुवेदी थप्छन्, ‘यो महत्वपूर्ण समयमा सरकारले के–कसरी काम गर्छ हेर्न बाँकी छ ।’ 

बितेका एक वर्षमा गर्वका साथ देखाउन सरकारसामु कुनै काम नभएको धारणा राख्छन्, लेखक नयनराज पाण्डे । लेखक पाण्डेले पनि दुईतिहाइको सरकार बनेसँगै देश र जनताको हितमा राम्रा निर्णय हुने अपेक्षा गरेका थिए । तर, पछिल्लो दिनमा सरकारले जनअपेक्षाविपरीत काम गरेको पाण्डेको आरोप छ । 

‘मेलम्चीका कुरा, सिन्डिकेट अन्त्य, महँगी, भ्रष्टाचार नियन्त्रण आदि विषय सरकारलाई वास्ता छैन,’ पाण्डेले भने ‘जनभावनाअनुरूप नभएको कामलाई कसरी उपलब्धि मान्ने ?’

सरकारले सामाजिक सञ्जालमाथि नियन्त्रण गर्न खोजेको बताउँदै उनले यसलाई दुर्भाग्यको संकेत मानेका छन् । उनी थप्छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजे सरकारले तानाशाही प्रवृत्ति उजागर गर्न खोजेको मानिनेछ ।’

समग्रमा सरकारको एकवर्षे कार्यकाललाई लेखक तथा साहित्यकारले सुन्दर सपना देखाउन सफल भएको असफल सरकारका रूपमा व्याख्या गरेका छन् । 

  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार ०:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया