शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रुपमा देख्नुहुन्छः विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपतिमा नेपाली कांग्रेसकै कोही नेता हुने संकेत गरेका छन् । उनले अहिलेको परिस्थितिमा बदलाव आइसकेको जिकिर गर्दै अब आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति शीतलनिवासमा राष्ट्रपतिका रुपमा देखिने दाबी गरेका छन् ।

बुधबार संसद सचिवालय बाहिर सन्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले यसका लागि धेरै टिप्पणी गर्न जरुरी नभएको भन्दै अहिले सभामुखको निर्वाचनको समय भएको र त्यसपछि राष्ट्रपतिको विषयमा कुरा हुने बताएका हुन् । 

शुक्रबार प्रतिनिधि सभा सभामुखका लागि निर्वाचन हुँदैछ । सभामुखमा नेकपा एमालेको प्रस्तावमा तथा सत्ता साझेदार दलहरुको समर्थनमा देवराज घिमिरेले उम्मेदवारी दिएका छन् ।

यता, सत्ता बाहिर रहेका दलहरुको समर्थनमा नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको छ । न्यौपानेको प्रस्तावकसमेत रहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘हामी फरक ढंगले अगाडि गइरहेका छौँ । केही समयपछि शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रुपमा देख्नुहुनेछ ।’

उनले यसबारे अहिले पूर्णरुपमा सबै कुरा बताउने समय नभएको पनि बताएका छन् ।



मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सर्वदलीय बैठकमा मिलेर अगाडि बढ्ने संकेत गरेका थिए । उनले प्रधानमन्त्रीमा नेपाली कांग्रेसले पनि आफूलाई विश्वासको मत दिए पछि कांग्रेसको दायित्व पनि आफूसँग भएको बताउँदै आएका छन् ।

अर्कोतिर, अहिले सरकारमा सहभागी नभएका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीले सभामुखमा कांग्रेस उम्मेदवारलाई सहयोग गरेका छन् । उनीहरुले उपसभामुखको विषयमा पनि छलफल गरेर सहमतीमा अगाडि बढ्ने संकेत गरेका छन् ।



यी सबै दल एकातिर भएको खण्डमा र नेकपा माओवादी केन्द्रले पनि कांग्रेसले प्रस्ताव गरेका व्यक्तिलाई राष्ट्रपति बनाउन चाहेको खण्डमा अहिलेको सत्ता गठबन्धन धरापमा पर्ने देखिन्छ ।

  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १६:५१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया