जनकपुरधाममा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको वृहत् व्यापारिक मेला

मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको वृहत् व्यापारिक मेला ‘जनकपुरधाम व्यापार मेला २०७९’ आयोजना गर्न लागिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानहरूलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदान प्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता सिर्जना हुने आशाका साथ व्यापारिक मेलाको आयोजना गर्न लागिएको हो । 

मेलामा स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यलगायत सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बंगलादेशका विभिन्न क्षेत्रका व्यापारीको पनि सहभागिता रहने आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

औद्योगिक अवसरहरूको सम्भावित अध्ययन तथा क्षेत्रीय स्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीहरूलाई प्रोत्साहित गरी स्थानीय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गरिने अध्यक्ष महासेठले बताए । 

उनले यस वृहत् मेलाले पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् । आगामी फागुन ५ देखी १४ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछी परिसरमा आयोजना हुने जनकपुरधाम व्यापार मेलामा १५० भन्दा बढी स्टलहरू रहनेछ । उक्त मेलामा १ लाख भन्दा बढी अवलोकनकर्ताको आगमन हुने अपेक्षा गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोज कुमार साहले बताए । 

कार्यक्रमको मुख्य आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघ तथा सह–आयोजक सिया इभेन्टस रहेको छ । जनकपुरधाम व्यापार मेलामा पाइने विशेष सामानहरूमा अटोमोबाइल्स, गार्मेन्टस, कन्स्ट्रक्सन, बैंक, होम सप्लायर्स, हेल्थ एन्ड फिटनेश, छालाजन्य उत्पादन, किचेनवेयर तथा यस क्षेत्रका स्थानीय तथा नवीनतम् उत्पादनहरू रहने बताइएको छ ।   





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार १३:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया