ऋण तिर्न नसक्दा अघि बढ्न सकेन गौतमबुद्ध रंगशालाको काम
फरकधार / ८ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । 



कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तती फाउन्डेसनले रंगशाला निर्माणका क्रममा रकम अभाव र १८ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेको हो ।



भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको नाममा लालपूर्जा भएको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा ६ कठ्ठा जग्गा उपलब्ध गराएको थियो ।



निर्माणको समयमा अत्यधिक ऋण भएपछि कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । १६ माघ २०७५ मा महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख थियो ।



सहमतिपत्रमा रंगशाला निर्माणका क्रममा ऋण लागे फाउन्डेसन वा महानगर कसको दायित्वमा पर्ने उल्लेख नभएकाले समस्या भएको उनको भनाइ छ । ‘रङ्गशालाको ऋण तिर्नुपर्ने छ, यसका लागि उपायको खोजी भइरहेको छ,’ मेयर दाहालले भनिन् ।

निर्माण अगाडि बढाउने विषयमा प्रधानमन्त्री, युवा तथा खेलकुदमन्त्री, नेपाल सरकारका मुख्य सचिव, खेलकुद मन्त्रालयका सचिवसँग निरन्तर छलफल भइरहेको बताउँदै ऋणको व्यवस्थापन हुनासाथ निर्माण अगाडि बढाइने प्रमुख दाहालले बताइन् ।



सङ्घीय सरकारले रङ्गशाला निर्माणका लागि २२ करोड रुपैयाँ र प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरिसकेको छ भने भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट ७ करोड खर्च गरिसकेको छ । निर्माणका क्रममा लागेको ऋण तिर्ने उपाय नजुट्दा काम ठप्प भएको दाहालको भनाइ छ ।

रङ्गशाला निर्माणको काम महानगरको प्राथमिकतामा रहेको बताउँदै उनले सरकारी तवरबाट ऋण तिर्ने व्यवस्था हुन नसके फाउन्डेसनले फेरि अर्को अभियान चलाएर तिर्नुपर्ने बताइन् ।



यसअघि फाउन्डेसनले निर्माणको जिम्मा लिए पनि रकम परिचालन भने महानगरपालिकाले नै गर्दै आएको थियो । फाउन्डेसनले महानगरपालिकालाई रंगशाला हस्तान्तरण गर्दा ३५ प्रतिशत काम सम्पन्न भएको थियो ।

  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार १४:११:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया