संघीय अनुसन्धान ब्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । बाइडेनको निवासबाट एफबिआईले ‘गोप्य’ लेखिएका केही दस्ताबेज र उनका हस्तलिखित टिपोट लगेको राष्ट्रपतिका वकिलले बताएका छन् ।
राष्ट्रपति बाइडेनले स्वैच्छिकरूपमा एफबिआईको टोलीलाई खानतलासको अनुमति दिएका थिए । यद्यपि उक्त टोलीले खानतलासीको पुर्जी प्रस्तुत गरेको थिएन ।
विशिष्ट प्रकृतिको खानतलासीमा कुनै समस्या नभए पनि यसले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ । गत पुस १२ गते राष्ट्रपतिका वकिलहरूले मध्यावधि निर्वाचनको केही समयअघि वासिङ्टनको पेन बिडेन केन्द्रको पूर्वकार्यालयमा केही गोप्य दस्तावेज फेला पारेको खुलासा गरेपछि अनुसन्धान गर्न एफबिआई टोली राष्ट्रपतिको निजी निवासमा पुगेको हो ।
बाइडेन उपराष्ट्रपति रहेका बेलाका छ वटा गोप्य दस्तावेज विल्मिङटन निवासको पुस्तकालयबाट टोलीले फेला पारेको छ । राष्ट्रपतिले पुस्तकालयलगायत स्थानमा केही नभएको अनुसन्धान टोलीलाई बताएका थिए ।
तेह्रघण्टा लामो खोजविनका क्रममा गोप्य लेखिएका छ वटा दस्तावेज अनुसन्धान टोलीले आफ्नो नियन्त्रणमा लिएको राष्ट्रपतिका निजी कानुन व्यवसायी बब बउरले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।