प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न दबाबको तयारी

मोरङ– किराँत समुदायको साझा संस्था किराँत राई यायोक्खाले १०औं राष्ट्रिय महाधिवेशनबाट १ नम्बर प्रदेशको नाम किराँत प्रदेश राख्न दबाब दिने तयारीमा रहेको जनाएको छ । महाधिवेशनको तयारीबारे शनिबार काठमाडौं कोटेश्वरस्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी त्यसबारे जानकारी गराइएको हो । 
 
यायोक्खाको महाधिवेशन सुनसरीको धरानमा फागुन १८ देखि २० गतेसम्म हँुदै छ । सम्मेलनका लागि ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किराँत प्रदेश समग्र प्रदेशवासीको आह्वान’ भन्ने मुख्य नारा तय भएको संगठनको केन्द्रीय अध्यक्ष तिलक राईले बताए । 

महाधिवेशनमार्फत प्रदेशको नाम किराँत राख्न प्रदेशसभालाई दबाब दिइने यायोक्खा केन्द्रीय महासचिव जीवन हताचो राईले बताए । किराँत कुनै एउटा जाति नभएर इतिहास, भूगोल, सभ्यता, संस्कृति, साझा मनोविज्ञान भएको भन्दै यस अघिदेखि नै यायोक्खाले प्रदेशको नाम किराँत राख्नुपर्ने प्रस्ताव राख्दै आएको थियो । भूगोलको सम्मान र प्रदेशवासीको चाहना पूरा गर्न नाम किराँत राखिनुपर्ने यायोक्खा केन्द्रीय उपाध्यक्ष दिवस राईले बताए । 

प्रदेश १ को हिउँदे अधिवेशन माघ २० गतेदेखि सुरु भएको छ । यायोक्खाले यही अवसर पारेर धरानमा १०औं राष्ट्रिय महाधिवेशन गरेर प्रदेशको नाम किराँत राख्न थप दबाब दिने तयारी गरेको हो ।

महाधिवेशनअघि यायोक्खाको ताप्लेजुङ, पाँचथार, इलामा, झापा, मोरङ, सुनसरी, उदयपुर, ललितपुर, भक्तपुर, काठमाडौं, बारा, पर्सालगायतका जिल्ला अधिवेशन गरिसकेको यायोक्खा केन्द्रीय उपमहासचिव तथा प्रचारप्रशार विभाग प्रमुख भीम राईले बताए । 

त्यसैगरी, आठवटा भ्रातृ र २८ वटा भाषिक संस्थाहरूको अधिवेशनमार्फत प्रदेश १ को नाम किराँत राख्न प्रदेश सरकारलाई दबाब दिइएको यायोक्खा केन्द्र तथा प्रचार समितिका सदस्य अर्जुन जम्नेली राईले बताए । 

राष्ट्रिय महाधिवेशनमार्फत प्रदेशसभालाई दबाब दिन जिल्लाहरूमा भित्तेलेखन, ब्यानरिङ, पोस्टरिङ, ¥याली, जुलुसलगायतको कार्यक्रम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 



महाधिवेशनमा नेपालसहित १८ देश सहभागी हुने

यायोक्खाको राष्ट्रिय महाधिवेशनमा नेपालको २४ वटा जिल्ला समिति, आठवटा भ्रातृ संगठन, २८ वटा भाषिक संगठन, अमेरिका, वेलायत, भारत, हङकङ, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, युएईलगायतको १८ वटा देशबाट एक हजारभन्दा बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईले बताए । 



किराँत राई समुदाय नेपालको १०औं र ५९ आदिवासी जनजातिमध्ये पाँचौं ठूलो जनसंख्या भएको जाति हो । फागुन १८ गते सुनसरी धरानको भानुचौकमा हुने उद्घाटन कार्यक्रममा एक लाखभन्दा बढीको सहभागिता रहने महासचिव जीवन हाताचो राईले बताए । 

प्रदेश १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, नेपाल कम्युनिस्ट पार्टीका नेतासमेत रहेका पूर्वमन्त्री भीम आचार्य, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राई, प्रदेशका मन्त्रीहरू लगायत सहभागी हुने अध्यक्ष तिलक राईले बताए । 

प्रदेश १ को नाम किरातको विकल्प नभएको र नेतृत्वको कारण किरात नभएमा सम्पूर्ण उत्पीडित वर्ग, समुदायको सहभागितामा निर्णायक आन्दोलन हुने यायोक्खाले चेतावनी दिएको छ ।
 

  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार १३:७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया