प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो ।

आजको प्रतिनिधि सभा बैठकमा दुईवटा सम्भावित कार्यसूची तय गरिएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ । 

घिमिरे गत बिहीबार नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई हराउँदै सभामुखमा निर्वाचित भएका थिए । उनी १६७ मतका साथ सभामुखमा निर्वाचित भएका थिए । घिमिरेको  विपक्षमा १ सय खसेको थियो । 

प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एकजना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए । 



त्यस्तै, शनिबार भएको निर्वाचनमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भइन् । उनी १६६ मतका साथ उपसभामुखमा चयन भएकी थिइन् । 

नेपाली कांग्रेस उपसभामुख उम्मेदवार मुक्ताकुमारी यादवले ९७ मत मात्र प्राप्त गरिन् । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहेका थिए । 



  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार ८:१४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया