नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०५४ सालमा आफ्ना कारणले एमाले विभाजन नभएको स्पष्ट पारेका छन् । केही दिनअघि प्रतिनिधि सभा बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले २०५४ मा र २०७८ सालमा सभामुखका कारण एमाले विभाजन भएको आरोप लगाएपछि पौडेलले यस विषयमा स्पष्ट पारेका हुन् ।
‘मैले राप्रपालाई पनि लोकतन्त्र कलिलै छ, दलहरू फुट्यो भने लोकतन्त्र कमजोर हुन्छ भनेँ । त्यो प्रस्ताव (दल विभाजनको प्रस्ताव) लिएर आएका एमालेका सदस्यहरूलाई मैले त्यही कुरा भनेँ । तपाईंहरूको यो प्रस्ताव दर्ता गर्दिन, म सुदूरपश्चिम गएर आउँछु । सम्भव भएसम्म सहमति गर्नुस् भनेर म सुदूरपश्चिम गएँ,’ पौडेलले विगत स्मरण गरे ।
उनले एमाले विभाजन गर्न हेलिकोप्टर चढेर काठमाडौं आएको कुरा पनि सत्य नभएको बताए । ‘कर्णालीको पुलको माझमा पुगेपछि उच्च अधिकारीहरूले यहीँबाट फर्किनुपर्यो भने, म काम नसकी जान्न भनेर धनगढी गएँ । अर्को दिन महेन्द्रनगर गएँ । म मञ्चबाट झर्दा हेलिकोप्टर आइरहेको रहेछ । त्यसमै चढेर आएँ । लौ एमाले फोर्न दौडेर आयो भने,’ पौडेलले भने ।
उनी २०५१ सालको मध्यावधि निर्वाचनबाट सभामुख चयन भएका थिए । महाकाली सन्धिको समर्थन र विरोधमा रहेका दुई पक्षबीच विवाद हुँदा प्रतिनिधिसभाको त्यतिबेलाको ठूलो दल एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।